बिहानी समयमा बढ्दो दुर्घटना रोक्न तनहुँमा चालक सचेतना अभियान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिहानी समयमा बढ्दो दुर्घटना रोक्न तनहुँमा चालक सचेतना अभियान

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८३, आईतवार

    दमौली, ३१ जेठ । बिहानी समयमा सवारी दुर्घटनाको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा चालक सचेतना अभियानलाई निरन्तरता दिएका छन्।

    आइतबार बिहान ४ बजेदेखि पोखरा–मुग्लिङ सडकखण्डअन्तर्गत जिल्लाका विभिन्न स्थानहरूमा सवारी चालकहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममार्फत चालकहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित गति कायम राख्ने, निद्रा तथा थकानको अवस्थामा सवारी नचलाउने, ओभरटेक गर्दा सावधानी अपनाउने, सिट बेल्ट तथा हेल्मेटको अनिवार्य प्रयोग गर्ने लगायत सडक सुरक्षासम्बन्धी विषयमा जानकारी गराइएको थियो।

    प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार अभियान अन्तर्गत ३८ वटा दुई पाङ्ग्रे, ५९ वटा चार पाङ्ग्रे साना तथा ९५ वटा ठूला सवारी साधनका चालक तथा सहचालकलाई रोकी आवश्यक परामर्श र सचेतना प्रदान गरिएको छ। विशेष गरी बिहानको समयमा लामो दूरीका सवारी चालकहरूमा देखिने थकान, निद्रा तथा असावधानीका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

    सडक दुर्घटना न्यूनीकरण, चालकमा जिम्मेवारीबोध अभिवृद्धि तथा यात्रुलाई सुरक्षित यात्रा सुनिश्चित गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियान आगामी दिनहरूमा पनि निरन्तर जारी रहने उनले बताए ।