नेपाल पत्रकार महासंघ तनहुँद्वारा पत्रकारमाथि भएको दुर्व्यवहारको भर्त्सना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल पत्रकार महासंघ तनहुँद्वारा पत्रकारमाथि भएको दुर्व्यवहारको भर्त्सना

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८३, आईतवार

    दमाैली ३१ जेठ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाले शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित हाटबजारमा रिपोर्टिङका क्रममा पत्रकार विनोद ढुंगानामाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    महासंघका अनुसार जेठ ३१ गते रिपोर्टिङका क्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सदस्य तथा पत्रकार विनोद ढुंगानासँग शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले अभद्र, अपमानजनक तथा पत्रकारिताको मर्यादाविपरीत व्यवहार गरेका थिए।

    महासंघले जारी गरेको विज्ञप्तिअनुसार नगर प्रमुख पण्डितले “पत्रकार त पार्टीका हुन्छन्” भन्ने अभिव्यक्ति दिएपछि पत्रकार ढुंगानाले “को भयो पार्टीका पत्रकार ? कसरी भयो ?” भन्ने जिज्ञासा राखेका थिए। त्यसक्रममा नगर प्रमुख पण्डितले “तैले मलाई सिकाउन पर्दैन” भन्दै अपमानजनक र असभ्य व्यवहार गरेको महासंघले जनाएको छ।

    नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जनप्रतिनिधिबाट सञ्चारकर्मीमाथि गरिने यस्ता अभिव्यक्ति र व्यवहारले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत मर्यादा तथा लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाउने उल्लेख गरेको छ।

    महासंघले पत्रकार ढुंगानामाथि भएको दुर्व्यवहारको घोर भर्त्सना गर्दै सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल बन्द गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ।

    महासंघले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितामाथि हुने कुनै पनि प्रकारका दबाब, धम्की, दुर्व्यवहार वा हस्तक्षेपप्रति सञ्चार क्षेत्र सदैव एकजुट रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।