


दमाैली ३१ जेठ । मेकअप केवल सुन्दर देखिने माध्यम मात्र होइन, रोजगारी र उद्यमशीलताको राम्रो अवसर पनि बनेको छ। तालिम र सीप हासिल गरेर धेरै महिलाहरूले आफ्नै ब्युटी पार्लर सञ्चालन गरेका छन्, आर्थिक रूपमा आत्मनिर्भर बनेका छन् र अरूलाई समेत रोजगारी दिएका छन्।
महिलाको आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पुर्याइरहेको ब्युटी पार्लर व्यवसायमा आबद्ध महिलाहरूको पेशामा थप निखारता ल्याउन तनहुँ सौन्दर्य व्यवसायी संघले ड्राइ मेकअप, वाटरप्रुफ मेकअप, ब्राइडल मेकअप तथा रिसेप्सन मेकअपसम्बन्धी व्यावहारिक सीप प्रदान गरेको छ । संघले व्यास नगरपालिकाको सहकार्यमा पाँच दिने तालिम सञ्चालन गरेको थियो।
जेठ २७ गतेबाट ३१ गतेसम्म सञ्चालित तालिममा विशेष गरी ब्युटिसियन क्षेत्रमा रुचि राख्ने महिलाहरूलाई सहभागिता रहेको थियो । तालिमको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।
उनले आजको युगमा रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने युग भएको बताए। सौन्दर्य व्यवसाय रोजगारी सिर्जना गर्ने राम्रो माध्यम भएको बताउँदै न्यौपानेले सौन्दर्य सीपले रोजगारी र आत्मनिर्भरता विकास गरिरहेको बताए। सीपयुक्त महिलाहरूले आफ्नै व्यवसाय सुरु गरी आत्मनिर्भर बन्न सक्नु पर्ने न्यौपानेको धारणा थियो ।
ब्युटिसियन पेशा केवल सौन्दर्य सेवा मात्र नभई एक सम्मानजनक उद्यमशीलताको क्षेत्र रहेको न्यौपानेले स्पष्ट पारे। व्यास नगरपालिका सदैव महिला सशक्तीकरण, सीप विकास र उद्यमशीलता प्रवर्द्धनका कार्यक्रममा प्रतिबद्ध रहेको न्यौपानेको भनाइ थियो।
संघकी अध्यक्ष विष्णुमाया थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, संघकी पूर्व अध्यक्ष एवं वडा सदस्य साना रफत मिया, संघकी पूर्व अध्यक्ष धनमाया पौडेल, वरिष्ठ प्रशासकीय अधिकृत राजेन्द्र कार्की लगायतले तालिमले महिलाहरूलाई स्वरोजगार तथा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
प्रशिक्षकहरूद्वय मिरा लामिछाने श्रेष्ठ र रश्मी कँडेलले पछिल्लो समय सौन्दर्य व्यवसायप्रति आकर्षण बढ्दै गएकाले यस्ता तालिमले रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरेका थिए। आयोजकका अनुसार तालिमबाट सहभागी महिलाहरूले आधुनिक मेकअप कला, सौन्दर्यसम्बन्धी आधारभूत ज्ञान तथा व्यावसायिक सीप हासिल गरेका छन्।