


दमौली, १ असार । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सञ्चालन गरेको चालक सचेतना अभियानअन्तर्गत आज १२९ वटा सवारीसाधनका चालकलाई सचेतना प्रदान गरिएको छ।
पोखरा–मुग्लिङ सडक खण्डअन्तर्गत जिल्लाका विभिन्न स्थानमा बिहान ४ बजेदेखि सञ्चालन गरिएको अभियानमा ३५ वटा दुई पाङ्ग्रे, ४५ वटा चार पाङ्ग्रे साना तथा ४९ वटा ठूला सवारीसाधनका चालकलाई ट्राफिक नियम, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणसम्बन्धी जानकारी दिइएको हो।
बिहानको समयमा बढ्दै गइरहेका सवारी दुर्घटनालाई मध्यनजर गर्दै संयुक्त रूपमा सञ्चालन गरिएको कार्यक्रममा चालकलाई पर्याप्त विश्राम लिएर मात्र सवारी चलाउन, तीव्र गति नियन्त्रण गर्न, सिटबेल्ट तथा हेल्मेटको अनिवार्य प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
उनका अनुसार निद्रा, थकान र लापरबाहीका कारण हुने दुर्घटना न्यूनीकरण गर्न यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ। सुरक्षित र जिम्मेवार चालकको व्यवहारले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले सबै चालकलाई सजग रहन अनुरोध गरिएको छ।