


दमौली, ४ असार । प्रदेश अस्पताल दमौलीस्थित आँखा उपचार केन्द्रमा बिहीबार सेवा लिन पुगेका सेवाग्राहीले समयमै सेवा नपाएको गुनासो गरेका छन्।
सेवाग्राहीका अनुसार उनीहरू बिहान ९ बजे नै उपचार केन्द्रमा पुगेका थिए। तर, केन्द्रका कर्मचारी उपस्थित भए पनि सेवा सञ्चालन नगर्दा साढे ९ बजेसम्म प्रतीक्षा गर्नुपरेको उनीहरूको भनाइ छ।
एक सेवाग्राहीले कर्मचारी ९ बजे नै कार्यालयमा आए पनि बिरामीको सेवा सुरु नगरी अन्य काममा व्यस्त रहेको आरोप लगाए। निर्धारित समयमा सेवा नपाउँदा उपचारका लागि आएका बिरामी तथा सेवाग्राहीले सास्ती खेप्नुपरेको बताएका छन्।
समयमै सेवा प्रवाह नहुँदा सरकारी स्वास्थ्य संस्थाप्रति सेवाग्राहीको असन्तुष्टि बढ्दै गएको छ। सेवाग्राहीहरूले अस्पताल प्रशासनलाई नियमित र प्रभावकारी सेवा सुनिश्चित गर्न ध्यान दिन आग्रह गरेका छन्।
