


दमाैली, ४ असार । बिहानको समयमा बढ्दै गइरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा पोखरा–मुग्लिङ सडक खण्डमा चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएका छन्।
बिहीबार सञ्चालन गरिएको सचेतना कार्यक्रममा विभिन्न प्रकारका सवारी साधनका चालकलाई सुरक्षित यात्रा, ट्राफिक नियमको पालना तथा दुर्घटना न्यूनीकरण सम्बन्धी जानकारी प्रदान गरिएको थियो। अभियान अन्तर्गत ११९ जना दुई पाङ्ग्रे, ९७ जना चार पाङ्ग्रे तथा १३२ जना ठूला सवारी साधनका चालक गरी कुल ३४८ जना चालकलाई सचेतना प्रदान गरिएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
प्रहरीले विशेषगरी बिहानको समयमा हुने दुर्घटनाका कारण, चालकको लापरबाही, निद्रा लागेर सवारी चलाउने प्रवृत्ति, तीव्र गति, ओभरटेक तथा ट्राफिक नियम उल्लंघनका विषयमा चालकलाई सचेत गराएको थियो। साथै लामो दूरीका चालकलाई पर्याप्त आराम गरेर मात्र सवारी सञ्चालन गर्न आग्रह गरिएको प्रनाउ घिमिरेले बताए ।
पछिल्लो समय बिहानको समयमा सवारी दुर्घटनाका घटना बढ्दै गएको पाइएकोले चालक सचेतना अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिएको उनले बताए ।
“सवारी दुर्घटना न्यूनीकरणका लागि कारबाही मात्र पर्याप्त हुँदैन, चालकलाई सचेत र जिम्मेवार बनाउनु पनि आवश्यक छ,” उनले भने, “विशेषगरी बिहानको समयमा हुने दुर्घटनालाई मध्यनजर गर्दै चालकलाई सुरक्षित यात्राका बारेमा जानकारी दिने र ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।”
उनले दुर्घटना न्यूनीकरणमा चालकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकाले सवारी चलाउँदा गति नियन्त्रण, ट्राफिक संकेतको पालना तथा पूर्ण रूपमा शारीरिक र मानसिक रूपमा स्वस्थ अवस्थामा मात्र सवारी सञ्चालन गर्न आग्रह गरे।
पोखरा–मुग्लिङ सडक खण्ड देशकै व्यस्त राजमार्गमध्ये एक भएकाले यहाँ दैनिक हजारौँ सवारी साधन आवतजावत गर्ने गर्दछन्। सडक विस्तार तथा बढ्दो सवारी चापका बीच दुर्घटनाको जोखिम पनि उच्च रहने भएकाले सचेतना अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
