


दमाैली ४ असार । व्यास-१३ स्थित बेनिकोट सामुदायिक वन उपभोक्ता समितिले बेनीमित्र प्राथमिक विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। विद्यालयमा निजी स्रोतका शिक्षक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले समितिले ३० हजार नगद सहयाेग गरेकाे हाे ।
बेनिकोट सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्र बहादुर थापा, सचिव नानिमाया राना र कोषाध्यक्ष भक्त बहादुर थापाले संयुक्त रूपमा सो रकम विद्यालयका प्रधानाध्यापक किशाेर सुनामलाई हस्तान्तरण गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख बहादुर थापाको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक सुनामलाई सहयाेग रकम हस्तान्तरण गरिएको छ। “सामुदायिक वनले विद्यालयको आर्थिक समस्यालाई बुझेर गरेको यो सहयोग निकै महत्त्वपूर्ण छ,” रकम बुझ्दै प्रधानाध्यापक किशोर सुनामले भने, “यस रकमलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार र निजी शिक्षक व्यवस्थापनमा पूर्ण रूपमा सदुपयोग गरिनेछ।”
ग्रामीण क्षेत्रका विद्यालयहरूमा दरबन्दी अभाव भइरहेका बेला स्थानीय सामुदायिक वनले शिक्षा क्षेत्रको विकास र शिक्षक व्यवस्थापनका लागि देखाएको यो अग्रसरताको स्थानीयवासी र अभिभावकहरूले प्रशंसा गरेका छन्।