म्याग्दे गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्दे गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ३ असार २०८३, बिहीबार

    दमाैली ४ असार । तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा बाँदर नियन्त्रण तथा बाँदर प्रभावित क्षेत्रका कृषकको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ । गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न निजी क्षेत्रसँग साझेदारी गर्दै विशेष कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको छ ।

    गाउँसभाको आज आयोजित २०औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा बाँदरको बढ्दो आतङ्कका कारण प्रभावित कृषकलाई राहत पुग्ने गरी विभिन्न कार्यक्रम समावेश गरिएको हो ।

    नीति तथा कार्यक्रमअनुसार बाँदर प्रभावित क्षेत्रमा कृषकलाई सिप्लीगान, हलेदो लगायतका खेतीमा प्रोत्साहन गरिनेछ । बाँदरले कम क्षति पु¥याउने तथा बजारमा समेत राम्रो माग रहेका यस्ता नगदे बालीको उत्पादन विस्तारमार्फत कृषकको आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको अध्यक्ष श्रेष्ठले बताए ।

    गाउँपालिकाले बाँदरबाट हुने कृषि बालीको क्षति न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने नीति पनि अवलम्बन गरेको छ । पछिल्लो समय बाँदरका कारण मकै, तरकारी, फलफूल तथा अन्य बालीमा ठूलो क्षति पुग्दै आएकाले दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको श्रेष्ठले बताए ।

    अध्यक्ष श्रेष्ठले कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यसहित आत्मनिर्भर समृद्ध म्याग्देको आधार अभियान सञ्चालन गरिने बताए । उनका अनुसार व्यावसायिक साना किसानलाई उत्पादन र लागतका आधारमा प्रोत्साहन उपलब्ध गराइनेछ भने कृषि उत्पादन वृद्धि तथा बजारीकरणमा विशेष जोड दिइनेछ ।

    कृषि क्षेत्रको आधुनिकीकरणका लागि गाउँपालिकाले कृषि प्रयोगशालामार्फत सर्वसुलभ माटो परीक्षण सेवा सञ्चालन गर्ने नीति लिएको छ । माटो परीक्षणका आधारमा उपयुक्त बाली छनोट तथा वैज्ञानिक खेती प्रणाली अपनाउन कृषकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    त्यसैगरी, खेतीयोग्य जमिनको संरक्षण तथा सदुपयोगका लागि भूमि बैङ्क गरिने भएको छ । उपयोगविहीन अवस्थामा रहेका जमिनलाई उत्पादनसँग जोड्ने उद्धेश्यले भूमि बैङ्क अवधारणालाई कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    कृषकलाई समयमै सेवा उपलब्ध गराउन सञ्चालनमा रहेको कृषि एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइने भएको छ । कृषि उत्पादन, प्राविधिक सेवा तथा कृषिसम्बन्धी आवश्यक सामग्रीको पहुँच सहज बनाउन कृषि एम्बुलेन्सलाई व्यवस्थित गरिने श्रेष्ठले बताए ।

    गाउँपालिकाले आगामी वर्ष अनावश्यक खर्च कटौतीलाई पनि प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमअनुसार अनावश्यक गोष्ठी, तालिम तथा सामग्री खरिदमा रोक लगाइनेछ भने मितव्ययी प्रशासनिक अभ्यासलाई प्रोत्साहन श्रेष्ठले उल्लेख गरे ।