


दमौली, ५ असार । तनहुँ प्रहरीले सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा २१ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले बिहीबार लागुऔषध नियन्त्रण, अवैध मदिरा नियन्त्रण, शान्तिसुरक्षा कायम, फरार अभियुक्त पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत प्रयोग नियन्त्रणलगायत उद्देश्यले विशेष अभियान सञ्चालन गरेको थियो।
अभियानका क्रममा नियन्त्रणमा लिइएका २१ जनामध्ये १४ जनालाई आफन्तको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ। यस्तै, ६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।
नियन्त्रणमा परेकामध्ये १ जना अन्य कार्यालयमा दर्ता रहेको मुद्दामा फरार रहेको खुलेपछि आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित कार्यालयतर्फ पठाइएको उनले बताए ।