


दमौली, ५ असार । तनहुँको शुक्लागण्डकी नगरपालिकाका सामाजिक अभियान्ता राजेश पाण्डेले आफ्नै व्यक्तिगत खर्चमा २० वटा सामुदायिक कुकुरलाई रिफ्लेक्टिङ बेल्ट लगाइदिएका छन्।
सडकमा बस्ने कुकुरहरूको सुरक्षा बढाउने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत कुकुरहरूलाई रातिको समयमा सजिलै देखिने रिफ्लेक्टिङ बेल्ट लगाइएको हो। यसले अन्धकारमा सवारी चालकलाई कुकुर देख्न सहज हुने, सम्भावित सवारी दुर्घटना न्यूनीकरण हुने तथा कुकुर र सवारी चालक दुवैको सुरक्षा हुने अपेक्षा गरिएको छ।
पाण्डेले बोल्न नसक्ने जीवजन्तुप्रति पनि मानवता देखाउन आवश्यक रहेको बताए। उनले सडक कुकुरको संरक्षण र सुरक्षामा समुदायको समेत सहयोग आवश्यक रहेको उल्लेख गरे।
सामाजिक उत्तरदायित्व र पशु कल्याणप्रतिको संवेदनशीलता देखाउँदै गरिएको यो पहललाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्। सडकमा आश्रित जनावरहरूको सुरक्षाका लागि यस्ता अभियानले जनचेतना अभिवृद्धिसमेत गर्ने विश्वास गरिएको छ।