


दमौली, ५ असार । जेसीआई व्यास नगरले व्यास नगरपालिका–७ स्थित व्यास नगर समता विद्यालयलाई आर्थिक एवं शैक्षिक सहयोग गरेको छ । जेसीज सप्ताहन्त अन्तर्गत पहिलो दिन आज विद्यालयलाई जेसीआई व्यास नगरले नगद रु ३० हजारका साथै शैक्षिक सामग्री सहयोग गरेको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारलाई रु ३० हजारको चेक साथै विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।
सो अवसरमा नगरप्रमुख न्यौपानेले जेसीजले सामाजिक काममार्फत् आफ्नो छबि उच्च बनाएको उल्लेख गरे । नगरप्रमुख न्यौपानेले अभिभावकविहिन बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित नहुन् भन्नका लागि नगरपालिकाले समता विद्यालय स्थापना गरेको बताउँदै यसलाई नमूना विद्यालय बनाइने बताए ।
जेसीआई व्यास नगरका अध्यक्ष अजर नागिलाले सामाजिक उत्तरदायित्व अन्तर्गत जेसीज सप्ताहन्त अन्तर्गत विद्यालयलाई सहयोग गरिएको जानकारी दिए । जेसीआई व्यास नगरले १२ वर्षसम्म निरन्तर विद्यालयलाई नगद रु ३० हजारका साथै शैक्षिक सामग्री सहयोग गर्ने घोषणा अनुरुप लगातार दुई वर्ष सहयोग गरिसकेको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले विभिन्न सङ्घसंस्था, व्यक्तिहरुले विद्यालयका लागि सहयोग गरिरहेको जानकारी दिँदै उक्त सहयोगले विद्यार्थीको अध्ययन कार्यमा सहयोग पुगेको बताए ।