


दमौली, ६ असार । तनहुँको ऋषिङ गाउँपालिका–८ नालथोकमा बसको ढोकाबाट खसेर शुक्रबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–८ पल्ट्याङ बस्ने ६० वर्षीय सुकबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ढुङ्गाडेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ८९९८ नम्बरका बसमा सवार परियार बसबाट ओर्लने क्रममा लडेर घाइते भएका थिए । घाइते परियारलाई प्रदेश अस्पताल दमौली ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । बस र चालक प्रहरी नियन्त्रणमा छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा तनहुँमा एउटा सवारी दुर्घटना हुँदा एक जना मध्यम घाइते भएका छन् । दुर्घटनामा एउटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।