


दमौली, ९ असार । नेपाल मगर संघको १३औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपमहासचिव पदमा निर्वाचित भएपछि सिद्धान्त गर्जा मगरले आफ्नो कार्यकालका लागि १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
“मगरात सभ्यता सहितको समृद्ध मगर समाज” निर्माणको दीर्घकालीन लक्ष्यलाई आत्मसात गर्दै उनले मगर समुदायको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक पहिचानको संरक्षण, संगठन सुदृढीकरण र नेतृत्व विकासलाई प्राथमिकतामा राख्ने बताएका छन् ।
उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निवर्तमान अध्यक्ष ज्ञानेन्द्र पुन मगरप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार प्रकट गरेका छन् । उपमहासचिवको जिम्मेवारीमा रहेर सामाजिक न्याय, पहिचान, भाषा, संस्कृति तथा मगरात सभ्यताको संरक्षण र प्रवर्द्धनका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
उनले सार्वजनिक गरेको प्रतिबद्धतामा मगरात सभ्यता सहितको समृद्ध मगर समाज निर्माणको दीर्घकालीन गुरुयोजना कार्यान्वयन, मगर समाजको इतिहासलाई वर्तमानसँग जोड्दै भविष्यको मार्गचित्र कोर्ने, नेपालको प्रथम सहिद लखन सांस्कृतिक संग्रहालय निर्माणमा योगदान पुर्याउने, संगठनलाई सचेत, संगठित, संघर्षशील र समृद्ध बनाउने तथा जहाँ मगर त्यहाँ नेपाल मगर संघको संगठन विस्तार गर्ने विषय समेटिएका छन् ।
त्यसैगरी मगर समुदायको चेतना अभिवृद्धि, नेतृत्व विकास, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, आदिवासी जनजातिको अधिकार, सांस्कृतिक अस्तित्व, भाषिक विविधता, समावेशी प्रतिनिधित्व तथा पहिचानका सवालमा नीतिगत बहसमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले मगर भाषा तथा लिपिलाई सरकारी कामकाजमा कार्यान्वयन गर्न आवश्यक प्राविधिक सहयोग र दबाबमूलक पहल जारी राख्ने, समुदायको उत्थानमा योगदान पुर्याउने दिवंगत अग्रजहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै वर्तमान नेतृत्व तथा अग्रजहरूप्रति सम्मान कायम राख्ने उल्लेख गरेका छन् ।
साथै आगामी १४औँ राष्ट्रिय महाधिवेशन प्यानलरहित, राजनीतिक प्रभावरहित, स्वच्छ र स्वस्थ प्रतिस्पर्धाका आधारमा सम्पन्न हुनुपर्ने धारणा राख्दै संघको नेतृत्वलाई त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरेका छन् ।
नवनिर्वाचित उपमहासचिव मगरले आफ्नो कार्यकाललाई मगर समुदायको हित, पहिचान संरक्षण, संगठन सुदृढीकरण तथा सामाजिक रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धता जनाएका छन् ।