


दमौली, ९ असार । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक आज साँझ ६ः१५ बजे दुई सवारी साधन ठोक्किएर अवरुद्ध भएको आँबुखैरेनी मुग्लिन खण्ड साढे तीन घण्टापछि सुचारु भएको छ ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ क २७०० नम्बरको तेल ट्याङ्कर र विपरीत दिशातर्फ जाँदै गरेको ना.५ ख.७७७५ नम्बरको मालबाहक डिब्बा ट्रक ठोक्किएर दुर्घटना हुँदा उक्त खण्ड अवरुद्ध भएको थियो । अहिले राति ९ः४५ बजे दुवै सवारी साधन हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
प्रनाउ घिमिरेको नेतृत्वमा ३५ जनाको टोली खटिएर क्रेनको सहायताले दुवै सवारी साधन साइड लगाएर राजमार्ग सुचारु गराइएको हो ।
दुर्घटनामा ट्याङ्कर चालक लमजुङको सुन्दरबजार नगरपालिका–९ निवासी ४३ वर्षीय हरीबहादुर घर्ती दायाँ खुट्टामा सामान्य चोट लागेर घाइते भएका छन् । यस्तै ट्रक चालक धादिङको नौबिसे निवासी ३९ वर्षीय गौतम श्रेष्ठको दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।