


दमौली, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदका लागि तनहुँका चार जनाले उम्मेदवारी दर्ता गरेका छन्।
केन्द्रीय सदस्य पदका लागि तनहुँबाट राजु दाहाल, प्रकाश थापा, विकास सिग्देल र प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले उम्मेदवारी दर्ता गरेका हुन्। उनीहरूले पार्टी संगठन सुदृढीकरण, वैकल्पिक राजनीतिक अभियानलाई थप मजबुत बनाउने तथा गण्डकी प्रदेशको नेतृत्व तहमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिएका छन्।
महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारहरूको आजै मतदान हुने कार्यक्रम रहेको छ। गण्डकी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदका लागि विभिन्न जिल्लाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
रास्वपाको नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनलाई पार्टीको भावी दिशा र संगठनात्मक संरचना निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। तनहुँबाट उम्मेदवारी दिएका चारै नेताले पार्टीभित्र आफ्नो सक्रिय भूमिका र संगठन निर्माणमा पुर्याएको योगदानका आधारमा मतदातासमक्ष समर्थनको अपिल गरेका छन्।