व्यास नगरपालिकाद्वारा रु एक अर्ब ५० करोडको बजेट प्रस्तुत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    व्यास नगरपालिकाद्वारा रु एक अर्ब ५० करोडको बजेट प्रस्तुत

    खबरपुञ्ज संवाददाता

    ९ असार २०८३, बुधबार

    दमौली, १० असार । व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि डेढ अर्ब भन्दा बढीका अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बुधबार आयोजित ४५ औं नगरसभामा उपप्रमुख इन्दिरा दरैले रु एक अर्ब ५० करोड २० लाख एक हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

    विनियोजित बजेटमध्ये आर्थिक विकासतर्फ रु चार करोड दुई लाख ३४ हजार, सामाजिक विकासतर्फ रु ७२ करोड २९ लाख ९१ हजार, पूर्वाधार विकासतर्फ रु २६ करोड दुई लाख २५ हजार, वातावरण विपद्तर्फ रु चार करोड ८७ लाख, संस्थागत विकास सेवा प्रवाह सुशासनतर्फ रु ४२ करोड ९८ लाख ५१ हजार छुट्याइएको छ ।

    उपप्रमुख दरैले चालुतर्फ रु एक अर्ब दुई करोड ३७ लाख ६२ हजार दुई सय विनियोजन गरिएको बताइन् । जुन कुल बजेटको ६८.१६ प्रतिशत रहेको छ । त्यस्तै पुँजीगततर्फ रु ४७ करोड ४२ लाख ३९ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको ३१.८४ प्रतिशत रहेको छ ।

    विनियोजित बजेटमध्ये सङ्घ सरकारको सशर्त चालु अनुदानबाट रु ६१ करोड ८० लाख, आन्तरिक स्रोतबाट रु २० करोड, सङ्घ सरकारको वित्तीय समानीकरणबाट रु १८ करोड ६० लाख, राजश्व बाँडफाँटबाट रु १५ करोड ३२ लाख ७७ हजार, सशर्त पुँजीगत अनुदानबाट रु १३ करोड ४० लाख, राजश्व बाँडफाँट मालपोतबाट रु सात करोड, नगर विकास ऋणबाट रु तीन करोड ५० लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु दुई करोड ५० लाख पाँच हजार, अ.ल्या. सञ्चित कोषबाट रु दुई करोड १० लाख, प्रदेश सरकार राजश्व बाँडफाँटबाट रु एक करोड ८१ लाख ६५ हजार, सडक बोर्डबाट रु ७० लाख, नवप्रर्वतनीयबाट रु ७० लाख, समपुरकबाट रु ५० लाख, जिल्ला समन्वय समितिबाट रु ५० लाख, प्रदेश समपुरक अनुदानबाट रु ४५ लाख ५४ हजार, विशेष अनुदानबाट रु ४० लाख र जनसहभागिताबाट रु ३० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

    कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पर्यटनको एकीकृत विकास, सडक, खानेपानी, खेलकुद मैदान, कार्यालय भवन लगायतलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उपप्रमुख दरैले बताइन् ।

    चालु आर्थिक वर्षमा रु एक अर्ब २२ करोड यथार्थ आय हुन आएको बताउँदै उपप्रमुख दरैले यस अवधिमा रु ९७ करोड २६ लाख १० हजार नौ सय ३९ खर्च भएको जानकारी दिइन् ।