


दमौली, ४ साउन । तनहुँ-२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले स्वकीय सचिवको पारिश्रमिक तथा आफूले राज्यबाट प्राप्त गर्ने तलब–भत्ताको व्यवस्थापनबारे स्पष्ट पार्दै दुवै रकम जनहितमै खर्च गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
आइतबार जारी प्रेस विज्ञप्तिमा सांसद न्यौपानेले निर्वाचनअघि देखि नै आफ्नै व्यवस्थापनमा स्वकीय सचिवको पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गरेका छन्। हाल नेपाल सरकारले स्वकीय सचिवका लागि सुविधा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएसँगै सो मितिदेखि स्वकीय सचिवले तलब–भत्ता स्वयं बुझ्ने व्यवस्था गरिएको उनले बताएका छन्।
यसअघि स्वकीय सचिवलाई उपलब्ध गराउँदै आएको पारिश्रमिक बराबरको रकम अबदेखि आफ्नो व्यक्तिगत आम्दानीबाट तनहुँ–१ (जन्मथलो तथा स्थायी ठेगाना रहेको क्षेत्र) का जनताको आवश्यकता, प्राथमिकता र सामाजिक सेवामूलक कार्यमा खर्च गर्ने निर्णय गरिएको न्यौपानेले जनाएका छन्।
त्यसैगरी, प्रतिनिधिसभा सदस्यका रूपमा राज्यबाट प्राप्त हुने आफ्नो तलब–भत्ता भने यसअघि जस्तै तनहुँ–२ का जनताको हित, आवश्यकता र प्राथमिकताका क्षेत्रमा खर्च गरिरहने र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
विज्ञप्तिमार्फत न्यौपानेले राज्यकोषबाट प्राप्त हुने नगद सुविधा व्यक्तिगत लाभका लागि नभई जनसेवा, जनउत्तरदायित्व र सार्वजनिक हितका क्षेत्रमा सदुपयोग गर्ने आफ्नो नीति कायम रहने बताएका छन्।
साथै उनले यसअघि सार्वजनिक गरेका विभिन्न प्रतिबद्धतासमेत पुनः स्मरण गराएका छन्। जसमा सरकारी ठेक्का नलिने, निर्वाचनमा कुनै व्यक्ति वा संस्थाबाट आर्थिक सहयोग नलिने, आफ्नो तलब–भत्ता जनहितमा खर्च गर्ने, प्रत्येक तीन महिनामा स्थानीय तहमा पुगेर जनसंवाद कार्यक्रम सञ्चालन गर्ने, आगामी निर्वाचनमा उम्मेदवारी नदिने तथा तनहुँमा पुँजीगत खर्चको प्रगति प्रत्येक तीन महिनामा सार्वजनिक गर्ने प्रतिबद्धता समावेश छन्।
सांसद न्यौपानेले पारदर्शिता, इमानदारी र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर आफ्ना सबै प्रतिबद्धता कार्यान्वयन गर्दै आएको दाबी गर्दै आगामी दिनमा पनि जनताको सेवामा समर्पित रहने विश्वास व्यक्त गरेका छन्।