


दमौली, ५ साउन । तनहुँको विमलनगरस्थित यातायात व्यवस्था कार्यालयले यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर प्रणाली नयाँ प्रणालीमा रूपान्तरण भइरहेको कारण सवारी लाइसेन्स तथा ब्लुबुकसम्बन्धी अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ।
कार्यालयका अनुसार साउन ४ देखि ७ गतेसम्मका ट्रायल तथा रिट्रायल, बायोमेट्रिक र मेडिकल, लाइसेन्स नवीकरण, राजस्व रसिद, ब्लुबुक नवीकरण, सवारी दर्ता, जाँचपास र बाटो इजाजत सेवा हालका लागि बन्द रहनेछन्। साउन १ गतेको लिखित परीक्षाको नतिजा र ट्रायल तालिका समेत नयाँ प्रणाली लागू नभएसम्म प्रभावित हुने जनाइएको छ।
यद्यपि, लाइसेन्स कार्ड वितरण सेवा भने नियमित रूपमा सञ्चालन हुने कार्यालयले जनाएको छ। नयाँ प्रणाली पूर्ण रूपमा लागू भएपछि लाइसेन्स पास तथा रिट्रायलको राजस्व अनलाइनमार्फत बुझाउन सकिने व्यवस्था गरिने पनि कार्यालयले जानकारी दिएको छ।