


दमौली, ५ साउन । तनहुँको व्यास नगरपालिकाले दुग्ध उत्पादनमा संलग्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरेको दूध अनुदान कार्यक्रमअन्तर्गत एक वर्षमा रु ४६ लाख १६ हजार ५४० वितरण गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका २०८२ साउनदेखि २०८३ असार मसान्तसम्म नगरपालिकाभित्र उत्पादन भई सङ्कलन केन्द्रमार्फत बिक्री गरिएको २३ लाख ८ हजार २७० लिटर दूधमा प्रतिलिटर रु २ का दरले अनुदान उपलब्ध गराइएको हो।
नगरपालिकाले दुग्ध उत्पादनलाई व्यावसायिक, दिगो र प्रतिस्पर्धी बनाउन यो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। अनुदान कार्यक्रमले कृषकलाई उत्पादन बढाउन थप उत्साहित बनाएको, पशुपालन व्यवसायप्रति आकर्षण बढाएको तथा स्थानीय दुग्ध उत्पादन र बजार व्यवस्थापनमा समेत सकारात्मक प्रभाव परेको उनको भनाइ छ।
स्थानीय सरकारको यस कार्यक्रमले दूध उत्पादन गर्ने कृषकको आम्दानीमा टेवा पुर्याउनुका साथै कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरणलाई समेत बल पुगेको विश्वास गरिएको छ। नगरपालिकाले आगामी वर्षहरूमा पनि कृषकमैत्री कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि र आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माणमा जोड दिने जनाएको छ।