दुवै मिर्गौला फेल भएपछि जीवन बचाउन सहयोगको अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुवै मिर्गौला फेल भएपछि जीवन बचाउन सहयोगको अपिल

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८३, मंगलवार

    दमाैली ५ साउन । लमजुङको मध्यनेपाल नगरपालिका–७, करापुटार निवासी मिलन विक दुवै मिर्गौला फेल भएपछि जीवन बचाउने संघर्षमा छन्। वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहँदा एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि गरिएको स्वास्थ्य परीक्षणमा उनका दुवै मिर्गौला फेल भएको पुष्टि भएको थियो।

    रोग पत्ता लागेपछि सम्बन्धित कम्पनीले उनलाई उपचारका लागि नेपाल फर्काइदिएको थियो। नेपाल आएपछि केही समय काठमाडौंमा डायलासिस गराएका विकले उपचारको उच्च खर्च र सरकारी अस्पतालमा समयमै पालो नपाउने समस्याका कारण पोखरास्थित लेकसिटी अस्पतालमा डायलासिस गराएका थिए ।

    हाल उनी विगत एक महिनादेखि दमौली अस्पतालमा नियमित डायलासिस गराइरहेका छन् । उपचारको सहजताका लागि उनी श्रीमती, छ वर्षका एक छोरा र एक वर्षकी एक छोरी सहित दमौलीमा डेरा गरेर बस्दै आएका छन् ।

    नियमित डायलासिस, औषधि र दैनिक जीवनयापनको खर्च धान्न निकै कठिन भएको परिवारले जनाएको छ। आर्थिक अवस्था कमजोर भएकाले उपचारलाई निरन्तरता दिन समस्या भइरहेको छ।

    मिलन विकले साना छोराछोरीको भविष्य सम्झँदै आफूलाई बाँच्ने अवसर दिन सबै सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेका छन्। “मेरा साना छोराछोरीको भविष्यका लागि पनि बाँच्न चाहन्छु। उपचारका लागि सबैले सकेको सहयोग गरिदिनुहोस्,” उनले भावुक हुँदै भने ।