


दमाैली ५ साउन । तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य नौ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न ३:१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको कमाण्डमा ट्राफिक प्रहरीसहित १७ जना प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार उद्धार टोलीले बसभित्र च्यापिएका चालकलाई सकुशल बाहिर निकालेर उपचारका लागि रत्नहरी अस्पताल पठाएको छ। चालकको अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।
उहाँका अनुसार बसमा २५ जना यात्रु सवार रहेका थिए। दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।