


दमौली, ६ साउन । व्यास नगरपालिकाले बजार क्षेत्रमा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका पक्की संरचना, टिनका छज्जा तथा सार्वजनिक आवागमनमा बाधा पुग्ने सामग्री हटाउन दोस्रो पटक सार्वजनिक सूचना जारी गरेको छ।
नगरपालिकाले यसअघि नगर कार्यपालिकाको २३८औँ नियमित बैठकको निर्णयअनुसार जेठ २५ गते ३५ दिने पहिलो सूचना जारी गरेको स्मरण गराउँदै, पुनः साउन १ गते बसेको २४३औँ नियमित बैठकको निर्णय नं. ६ बमोजिम दोस्रो सूचना प्रकाशित गरेको हो।
सूचनाअनुसार व्यास नगरपालिका वडा नं. २, ३ र ४ का बजार क्षेत्रमा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका र्याम्प, सिँढी लगायतका पक्की संरचना, सडक अधिकार क्षेत्रभित्र बनेका टिनका छज्जा, सार्वजनिक आवागमनमा अवरोध पुग्ने व्यवसाय तथा सडकमा सिधै पानी खसाल्ने पाइप साउन १५ गतेभित्र सम्बन्धित घरधनी तथा व्यवसायीले स्वयं हटाउनुपर्नेछ।
नगरपालिकाले तोकिएको समयभित्र संरचना तथा सामग्री नहटाइए प्रचलित कानूनअनुसार नगरपालिकाले आफैं हटाई आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ।
