


दमौली, ६ साउन । तनहुँ प्रहरीले एक महिना कैद सजाय तथा तीन हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा म्याग्दे गाउँपालिका–४ बाट एक जना पुरुष फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
जिल्ला अदालत तनहुँको फैसलाअनुसार ती व्यक्तिलाई एक महिना कैद सजाय र तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई जिल्ला अदालत तनहुँमा पेश गरिएको थियो।
अदालतको आदेशपछि कैद सजाय भुक्तानका लागि उनलाई जिल्ला कारागार तनहुँ चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।