


दमौली, ७ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका हुँदै हर्कपुर जोड्ने दुलेगौंडा–हर्कपुर मोटरमार्ग वर्षौंदेखि स्तरोन्नतिको पर्खाइमा रहेको छ। सडकको अवस्था सुधार हुने आशामा बसेका स्थानीयवासी पछिल्ला वर्षहरूमा पटक–पटक सार्वजनिक रूपमा प्रतिबद्धता आए पनि निर्माण कार्यले अपेक्षित गति लिन नसकेको भन्दै निराश बनेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा यो सडकको विषय पुनः चर्चामा आएको छ, जहाँ स्थानीयवासीले प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेलाई प्रत्यक्ष रूपमा ध्यानाकर्षण गराउँदै सडकलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
स्थानीय राजन रिमालले “दुलेगौंडा–हर्कपुर पनि सम्झनु होला।” भन्दै टिप्पणी गरेपछि अन्य स्थानीयवासीले पनि सडकको विषय उठाएका छन्। केसी ब्रो रामजीले “लौन, यता दुलेगौंडा–हर्कपुर बाटोको अवस्था पनि फिल्डमै आएर हेरिदिनु पर्यो माननीयज्यू।” भन्दै सडकको वास्तविक अवस्था प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेका छन्।
रिमालका अनुसार सडकको स्तरोन्नति नहुँदा वर्षायाममा हिलो र खाल्डाखुल्डीका कारण सवारी सञ्चालन जोखिमपूर्ण हुने गरेको छ भने हिउँदमा धुलोका कारण स्थानीय बासिन्दा, विद्यार्थी तथा यात्रुहरू दैनिक रूपमा सास्ती खेप्न बाध्य छन्। स्थानीय व्यवसायीहरूले पनि सडकको दयनीय अवस्थाका कारण व्यापार–व्यवसाय प्रभावित भएको बताउने गरेका छन्।
यसअघि आयोजित एक सार्वजनिक कार्यक्रममा दुलेगौंडा–हर्कपुर मोटरमार्गलाई छिट्टै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो। उक्त प्रतिबद्धताले स्थानीयमा सडक निर्माणप्रति ठूलो आशा जगाएको थियो। तर लामो समय बितिसक्दा पनि सडकको अवस्थामा उल्लेखनीय सुधार नआएको र निर्माण प्रक्रियाबारे स्पष्ट जानकारी समेत नपाउँदा जनप्रतिनिधिका प्रतिबद्धतामाथि नै प्रश्न उठ्न थालेको उनीहरूको भनाइ छ।
सडक मात्र होइन, शुक्लागण्डकी नगरपालिका–३ का विभिन्न स्थानमा विद्युतका पोल तथा कालो तार विस्तारको विषयमा समेत स्थानीयले असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार यस विषयमा चासो राख्दा “नेपाल विद्युत प्राधिकरणसँग बुझ्नुस, बजेट छुट्टिएको छ।” भन्ने जवाफ मात्र प्राप्त भएको छ। बजेट छुट्टिएको भनिए पनि काम कहिले सुरु हुन्छ, कुन चरणमा पुगेको छ वा कार्यान्वयनको समयसीमा के हो भन्नेबारे स्पष्ट जानकारी नपाएको स्थानीयको गुनासो छ।
स्थानीयवासीका अनुसार संघीय सांसद, स्थानीय सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुन सके विकासका यस्ता योजनाहरू छिटो अघि बढ्न सक्थे। तर आवश्यक समन्वयको अभावका कारण सडक, विद्युत लगायतका विकास योजनामा अन्योल र ढिलासुस्ती देखिएको उनीहरूको बुझाइ छ।
शुक्लागण्डकी नगरपालिका–६ ब्यागनका विष्णुमाया परियारले चुनावका बेला मात्रै सडकले प्राथमिकतामा पाउने गरेकामा गुनासो गरिन् ।
दुलेगौंडा–हर्कपुर मोटरमार्गको शुक्लागण्डकी नगरपालिका–३ वन्केवाको टारदेखि म्याग्दे गाउँपालिका– ६ हर्कपुर खण्ड कालोपत्रेका लागि ठेक्का लगाएको सात वर्ष पुगेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ योजना अन्तर्गत दुलेगौंडा– हर्कपुर मोटरमार्ग कालोपत्रे गर्न विसं २०७६ कात्तिक ४ गते शङ्करमाली निर्माण सेवा प्रालि काठमाडौंले ठेक्का लियो ।
१०.१८ किलोमिटर सडक कालोपत्र विसं २०७८ माघ १६ गतेभित्र सक्ने सम्झौता भएपनि हालसम्म चार पटक म्याद थप भएको छ । तर, काम भने ५० प्रतिशत पनि पूरा भएको छैन ।
शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा दश किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो ।
स्थानीय एवं दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष देउ बहादुर श्रेष्ठले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताए ।