


दमौली, १३ साउन । तनहुँको दमौलीमा गुरु पूर्णिमा तथा व्यास जयन्तीका अवसरमा भव्य प्रभातफेरी निकालिएको छ। व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषको आयोजनामा तीनदिने कार्यक्रमको अन्तिम दिन बुधबार बाजागाजा र झाँकीसहित प्रभातफेरी सम्पन्न गरिएको हो।
अनसन चौतारीबाट सुरु भएको प्रभातफेरीले दमौली बजार परिक्रमा गर्दै धार्मिक तथा सांस्कृतिक वातावरण सिर्जना गरेको थियो। कार्यक्रममा विभिन्न संघसंस्था, भक्तजन तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रभातफेरीपछि व्यास नगरपालिकाको परिसरमा रहेको महर्षि वेदव्यासको पूर्णकदको सालिकमा माल्यार्पण तथा पूजाअर्चना गरिएको थियो।

कोषका महासचिव विष्णुभक्त सिग्देलले यस्ता धार्मिक तथा प्राज्ञिक कार्यक्रमले व्यास जन्मभूमिको ऐतिहासिक तथा धार्मिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।