साउन महिनामा ४ हजार विपद्का घटना, दुई सय पाँच जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    साउन महिनामा ४ हजार विपद्का घटना, दुई सय पाँच जनाको मृत्यु

    वरुण भारती

    २२ श्रावण २०८३, शनिबार

    काठमाडाै २३ साउन । चालु आर्थिक वर्ष २०८३÷८४ सुरु भएयता साउन २३ गतेसम्म देशभर चार हजार चार सय आठ विपदजन्य घटना घट्का छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा दुई सय पाँच जनाको मृत्यु, पाँच जना बेपत्ता र एक हजार तीन सय २४ घाइते भएका छन् ।

    प्राधिकरणले साउन २३ गते सार्वजनिक गरेको विपद् बुलेटिनअनुसार विपद्का कारण देशभर पाँच हजार चार सय ५७ परिवार प्रभावित छन् ।

    प्राधिकरणका उपसचिव, प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतका अनुसार पछिल्लो अवधिमा विभिन्न प्रकृतिका विपद्का घटना भइरहेका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय गर्दै उद्धार, राहत तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने काम भइरहेको उनले बताए ।

    प्राधिकरणका अनुसार साउन २२ गते बिहान १० बजेदेखि साउन २३ गते बिहान १० बजेसम्मको २४ घण्टामा मात्रै देशभर ३२ वटा विपद्जन्य घटना भएका छन्। ती घटनाबाट १३ जना घाइते भएका छन् ।

    उक्त अवधिमा सबैभन्दा धेरै सर्पदंशका १३ घटना भएका छन् । सर्पदंशबाट १३ जना घाइते भएका छन् । त्यस्तै पहिरोका १०, आगलागीका चार, अविरल वर्षाका तीन, बाढीको एक र जनावर आक्रमणको एक घटना भएका छन् ।

    २४ घण्टाको अवधिमा भएका विपद्का घटनामा २६ जिल्ला प्रभावित भएका छन्। उद्धार तथा विपद् प्रतिकार्यका लागि एक सय १६ जना प्रहरी परिचालन गरिएको छ ।

    साउन २३ गतेसम्मको समग्र तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। आगलागीका १ हजार ६० वटा घटना हुँदा २० जनाको मृत्यु, १४५ जना घाइते र १ हजार ७५० परिवार प्रभावित भएका छन् ।

    त्यसपछि सर्पदंशका ८०१ घटना भएका छन्। सर्पदंशबाट मात्रै ५९ जनाको मृत्यु र र र ७४९ जना घाइते भएका छन् भने ८०३ परिवार प्रभावित भएका छन् । पहिराका ८१५ घटना भएका छन्। पहिरोमा परी २० जनाको मृत्यु, एक जना बेपत्ता र ३२ जना घाइते भएका छन्। पहिरोबाट ६३१ परिवार प्रभावित भएका छन् ।

    हावाहुरीका ४८० घटना हुँदा १३ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् भने १ हजार ३२५ परिवार प्रभावित भएका छन्। यसैगरी चट्याङका २३५ घटनामा २५ जनाको मृत्यु र १३२ जना घाइते भएका छन् ।

    प्राधिकरणको तथ्यांकअनुसार साउन २३ गतेसम्म बाढीका २३३ घटना भएका छन्। बाढीमा परी १७ जनाको मृत्यु, चार जना बेपत्ता र १३ जना घाइते भएका छन्। बाढीबाट ४८८ परिवार प्रभावित भएका छन् । त्यस्तै जनावर आक्रमणका २४५ घटना हुँदा १८ जनाको मृत्यु र १३० जना घाइते भएका छन्। यसबाट ३६८ परिवार प्रभावित भएका छन्।

    वर्षायाममा बाढी, पहिरो, डुबान, चट्याङ र भारी वर्षाजस्ता विपद्का घटना बढ्ने भएकाले स्थानीय तहदेखि समुदायस्तरसम्म पूर्वतयारी आवश्यक रहेको प्राधिकरणले जनाएको छ।

    प्राधिकरणकी प्रवक्ता महतले विपद्का बेला तत्काल उद्धार तथा राहतसँगै जोखिम न्यूनीकरणका लागि पूर्वतयारीलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् । । सम्भावित जोखिमबारे पूर्वसूचना, सुरक्षित स्थानको पहिचान, स्थानीय विपद् व्यवस्थापन संयन्त्रको सक्रियता तथा सुरक्षा निकायसँगको समन्वयले विपद्का कारण हुने मानवीय तथा भौतिक क्षति कम गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

    प्राधिकरणले विपद्का घटना भएमा स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग तत्काल समन्वय गरी उद्धार तथा राहत कार्य अघि बढाउन आग्रह गर्दै आएको छ। वर्षायाम अझै बाँकी रहेकाले बाढी, पहिरो, चट्याङ तथा अन्य विपद्को जोखिमलाई ध्यानमा राखी सतर्क रहनसमेत प्राधिकरणले अनुरोध गरेको छ ।