व्यास नगरको २४४औँ कार्यपालिका बैठकका १० निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरको २४४औँ कार्यपालिका बैठकका १० निर्णय

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०८३, आईतवार

    दमाैली २४ साउन । व्यास नगरपालिकाको २४४औँ नियमित कार्यपालिका बैठकले जग्गा व्यवस्थापन, पर्यटन पूर्वाधार, सडक निर्माण, स्वास्थ्य सेवा, युवा परिषद् गठनलगायतका विषयमा विभिन्न १० निर्णय गरेको छ।

    नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा प्रतिनिधि, कार्यपालिका सदस्य र सम्बन्धित शाखा प्रमुखको सहभागिता थियो।

    बैठकले यसअघि मिति २०८३/०४/१२ गते सम्पन्न २४३औँ कार्यपालिका बैठकका निर्णयको समीक्षा गरेको छ।

    व्यास नगरपालिका–१० स्थित वैरेनी जग्गा एकीकरण आयोजनामा रहेका केही जग्गा नापीका क्रममा रैतानी गुठीका रूपमा नापी भई अभिलेख कायम भएको देखिएकाले जग्गाधनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणमा सहजीकरण गर्न भूमि प्रशासन कार्यालय तनहुँलाई लेखी पठाउने निर्णय गरेको छ। हाललाई प्रचलित कानुनअनुसार जग्गा विकास आयोजनाको प्रक्रियाबमोजिम सम्बन्धित जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गर्ने कार्यमा सहजीकरण गर्न आग्रह गरिने नगरपालिकाले जनाएको छ।

    व्यास–५ स्थित मानुङकोट पर्यटकीय ग्राममा निर्माण हुने संरचनाको दिगोपना तथा उत्थानशीलता मापनका लागि प्राविधिक सहयोग माग गरिएको Institute for Sustainable Infrastructure (ISI), California, USA बाट प्रस्ताव स्वीकृत भएको जानकारी बैठकमा प्राप्त भएको छ।

    प्रस्ताव स्वीकृत भएसँगै प्राविधिक सहयोगका लागि उक्त संस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको छ। यस सहयोगबाट मानुङकोटमा निर्माण हुने पूर्वाधारलाई थप दिगो र सम्भावित जोखिम प्रतिरोधी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    व्यास–१० दुम्सीचौरमा निर्माणाधीन नारेश्वर तालको जग्गा मिलानका लागि केही निजी जग्गा खरिद गर्नुपर्ने देखिएको छ। त्यसका लागि जग्गा प्राप्ति ऐनबमोजिम सम्बन्धित मन्त्रालयबाट अनुमति माग्ने निर्णय बैठकले गरेको छ।

    व्यास–३ मा निर्माण हुने खेलमैदानको आर्थिक वर्ष २०७५/७६ मा तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)लाई हाल प्रचलित दररेटअनुसार अद्यावधिक गर्ने निर्णय भएको छ।

    विश्व बैंकको सहयोगमा निर्माणाधीन पराशर मार्गको निर्माण कार्यलाई तीव्रता दिन नगरपालिकाले निर्माण व्यवसायीलाई प्रत्येक हप्ता स्वयं उपस्थित भएर कार्यप्रगति विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको छ। बैठकले २०८३ साल असोज मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी कार्यतालिकासहितको विवरण पेश गर्नुपर्ने शर्तमा सोही अवधिसम्म म्याद थप गर्ने निर्णय गरेको छ।

    पोखरा घारीपाटनस्थित हिमालय आँखा अस्पतालले दमौलीमा आँखा उपचार केन्द्र सञ्चालनका लागि नगरपालिकासँग सहकार्य गर्न अनुरोध गरेको थियो। बैठकले अस्पतालसँग सहकार्य गर्ने निर्णय गरेको छ।

    व्यास नगर युवा परिषद् आर्थिक वर्ष २०८३/८४ का लागि गठन गर्न १५ दिने सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ।

    सूचनामार्फत प्राप्त नामलाई कार्यविधिअनुसार सिफारिस गर्ने कार्यका लागि नगर खेलकुद समितिलाई संयोजनको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ।

    नगरपालिकाको अनुरोधमा सार्वजनिक पेटीमा रहेका संरचना हटाउन सहयोग गर्ने सम्पूर्ण घरधनीलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ।

    बाँकी रहेका संरचना हटाउने कार्यका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशनसमेत दिइएको छ। सार्वजनिक आवागमन सहज बनाउने उद्देश्यले पेटी व्यवस्थापनको काम अघि बढाइएको नगरपालिकाले जनाएको छ।

    हालै सम्पन्न जनप्रतिनिधिको क्षमता विकास तालिममा प्रशिक्षण दिनुहुने पूर्वसचिव कृष्णहरि बास्कोटा र डा. शेषरमण न्यौपानेलाई बैठकले धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ।

    जनप्रतिनिधिको क्षमता अभिवृद्धि गरी स्थानीय तहबाट हुने सेवा प्रवाह तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त तालिम आयोजना गरिएको थियो।

    नगरपालिकाले बैठकबाट भएका निर्णय कार्यान्वयन गर्दै सेवा प्रवाह, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा युवा सहभागिताका क्षेत्रमा काम अघि बढाउने जनाएको छ।