अविरल वर्षाले फिर्के पुल भत्कियो, आवतजावतमा जोखिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    अविरल वर्षाले फिर्के पुल भत्कियो, आवतजावतमा जोखिम

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८३, बुधबार

    पोखरा, ३ भदौ । पोखरा महानगरपालिका–५ र ८ जोड्ने रेडियो नेपाल तलस्थित फिर्के पुल गएराति ११ बजेदेखि परेको अविरल वर्षाका कारण जगैदेखि भत्किएको छ।

    केही हप्तादेखि नै जोखिममा रहेको उक्त पुलमा यसअघि नै सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। पुल पूर्णरूपमा भत्किएपछि पैदलयात्रु हिँड्ने पेटीसमेत जोखिममा परेको छ।

    पुल भत्किँदा निस्किएको कंक्रिट तथा अन्य संरचनाले पानीको बहावमा अवरोध सिर्जना गरेको छ। यसका कारण पुल आसपास पानी जम्ने तथा थप क्षति हुनसक्ने जोखिम देखिएको छ। साथै, अवरोधका कारण माटो, ढुंगा तथा अन्य सामग्री फेवातालमा पुग्ने सम्भावना समेत बढेको छ।

    सम्भावित थप क्षति रोक्न पोखरा महानगरपालिका तथा सम्बन्धित वडा कार्यालयले तत्काल अवरोध हटाउने र पानीको सहज निकासको व्यवस्था गर्न आवश्यक देखिएको छ।

    जोखिमपूर्ण अवस्था रहेकाले सर्वसाधारणलाई पुल तथा आसपासको क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।