


दमौली, ४ भदौ। दमौलीस्थित एपेक्स मलमा रहेको क्युएफएक्स सिनेमा हल ८९ दिनपछि पुनः सञ्चालनमा आउने भएको छ। गत जेठ ११ गते आएको हावाहुरीका कारण हलको छानो उडेपछि मर्मतका लागि बन्द रहेको हल भदौ ५ गते शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याउन लागिएको हो।
हल व्यवस्थापनका अनुसार मर्मतसम्भारको काम सम्पन्न भएसँगै शुक्रबारदेखि नियमित चलचित्र प्रदर्शन सुरु हुनेछ। पुनः सञ्चालनको पहिलो दिन नेपाली चलचित्र ‘गौथली’ र ‘मास्टर्नी’ प्रदर्शन गरिने भएको छ।
लामो समयदेखि चलचित्र प्रदर्शन बन्द हुँदा दमौली तथा आसपासका चलचित्रप्रेमी दर्शक प्रभावित हुँदै आएका थिए। हल पुनः सञ्चालनमा आएसँगै स्थानीय दर्शकलाई मनोरञ्जनका लागि सहज हुने अपेक्षा गरिएको छ।