


दमाैली, भदाै ५ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित नारेश्वर तालमा पानी जम्मा गर्न सुरु गरिएको छ । लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको तालको बाँध तथा आवश्यक संरचना निर्माण सम्पन्न भएसँगै पानी भर्न थालिएको हो । पानी भरिन थालेसँगै व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएको नारेश्वर तालले पूर्णता पाउने चरणमा पुगेको छ ।
तालको संरचना तयार भएपछि हाल पानी सञ्चयको काम अघि बढाइएको व्यास नगरपालिकाले जनाएको छ । लामो समयसम्म निर्माण कार्यमा देखिएको अवरोधका कारण आयोजना अलपत्रजस्तै बनेको भए पनि सम्बन्धित निकायको समन्वयमा बाँध निर्माणको काम पूरा भएपछि तालमा पानी जम्मा गर्न सम्भव भएको हो ।
ताल निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले पानी भरिन थालेसँगै ताल आकर्षक देखिन थालेको बताउँदै यहाँ आन्तरिक पर्यटक घुम्नका लागि आउन थालिसकेको जानकारी दिए । उनले बयस ताल व्यास नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुने बताए ।

करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको नारेश्वर ताल कङ्क्रिट ग्राभिटी ड्याम प्रविधिबाट निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । तालको बाँध करिब आठ मिटर अग्लो रहेको छ भने तालको औसत गहिराइ २.५ देखि तीन मिटरसम्म रहनेछ । लम्सालका अनुसार तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिनेछ ।
उनका अनुसार नारेश्वर ताललाई केवल पानी सञ्चय गर्ने संरचनाका रूपमा नभई कृषि, पर्यटन, वातावरण र स्थानीय रोजगारीसँग जोडिएको बहुउद्धेश्यीय आयोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
“तालमा पानी जम्मा हुन थालेसँगै आयोजनाको महत्वपूर्ण चरण पूरा भएको छ । अब यसको उपयोगलाई कसरी बढीभन्दा बढी प्रभावकारी बनाउने भन्ने विषयमा ध्यान दिनुपर्ने अवस्था छ,” उनले भने, “सिँचाइसँगै पर्यटन प्रवद्र्धन र स्थानीय आर्थिक गतिविधि बढाउने गरी तालको विकास गर्ने योजना छ ।”
नारेश्वर ताल निर्माणको उद्धेश्य स्थानीय कृषि क्षेत्रलाई आवश्यक पानी उपलब्ध गराउनु पनि हो । तालसँगै सिँचाइ ट्याङ्की निर्माण गरिएको छ । तालमा जम्मा भएको पानी तानेर नजिकैका कृषि क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
यसबाट दुम्सीचौर आसपासका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । वर्षाको पानीमा निर्भर भएर खेती गर्नुपर्ने अवस्थालाई कम गर्दै नियमित सिँचाइ सुविधा उपलब्ध गराउन सके कृषि उत्पादन बढाउन सहयोग पुग्ने विश्वास छ ।
ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके आसपासका क्षेत्रमा होटल, रेष्टुरेन्ट, स्थानीय उत्पादनको बिक्री तथा अन्य सेवामूलक व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ ।
नारेश्वर ताल व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा निर्माण भएको हो । आयोजनाको अनुमानित लागत करिब रु चार करोड रहेको छ ।
निर्माणका क्रममा लामो समयसम्म बाँध निर्माणको काम रोकिए पनि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको समन्वयमा बाँकी काम पूरा गरिएको नगरपालिकाले जनाएको छ ।
अहिले बाँध तथा आवश्यक संरचना तयार भएर पानी जम्मा गर्न थालिएपछि स्थानीय बासिन्दामा समेत उत्साह बढेको छ । तालमा पानी भरिएसँगै आयोजनाको वास्तविक उपयोग देखिन थालेको स्थानीयको अपेक्षा छ ।