कांग्रेस एकताका लागि सानेपा आउन महामन्त्री पौडेलको अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस एकताका लागि सानेपा आउन महामन्त्री पौडेलको अपिल

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०८३, शुक्रबार

    काठमाडौं, ५ भदौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका सबै मतभेद र असन्तुष्टिलाई थाँती राखेर संवाद तथा एकताका लागि सानेपा आउन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

    महामन्त्री पौडेलले शुक्रबार अपिल जारी गर्दै नेपाली कांग्रेस मुलुकको लोकतन्त्र, जनताको अधिकार र समृद्धिको अभियान बोकेको ऐतिहासिक पार्टी भएको उल्लेख गरेका छन्। उनले पछिल्लो राजनीतिक परिस्थितिले मुलुकलाई चुनौतीपूर्ण मोडमा पुर्‍याएको भन्दै कांग्रेस स्वयं सजग र सुदृढ हुनुपर्ने बताएका छन्।

    उनले मुलुकले कांग्रेसबाट एकता र अभिभावकत्व खोजिरहेका बेला पार्टीभित्रको बेमेल र असन्तुष्टिले थप समस्या सिर्जना गरिरहेको बताएका छन्। सत्ता प्राप्ति कांग्रेसका अग्रजहरूको मुख्य ध्येय नभएको उल्लेख गर्दै पार्टी स्थापनाका आधारभूत मूल्य–मान्यता संकटमा पर्न नदिन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।

    पार्टीभित्रका विवादलाई सडक वा अदालतमा लैजानुभन्दा राजनीतिक संवादमार्फत समाधान खोज्नुपर्ने पौडेलको भनाइ छ। उनले असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आफ्नो फरक विचारसहित पार्टी कार्यालय सानेपा आएर मनैदेखि संवाद गर्न आग्रह गरेका छन्।

    पौडेलले आगामी १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी आम कार्यकर्ताले सुम्पिएको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बताएका छन्। लोकतन्त्रलाई थप सुदृढ बनाउन कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।

    “हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन,” पौडेलले भनेका छन्। वर्तमान सरकारलाई खबरदारी गर्न पनि कांग्रेस थप सशक्त र एकताबद्ध हुनुपर्ने उनको धारणा छ।

    सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन र नेपाल तथा नेपाली जनताको सुन्दर भविष्यका लागि सँगै अघि बढ्न उनले विनाशर्त सानेपा आउन सबैलाई हार्दिक अपिल गरेका छन्।