


दमौली, ६ भदौ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यले तनहुँको बन्दीपुरमा तीज विशेष सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । आदियोगी प्रज्ञा धामको आयोजनामा बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित बन्दीपुर केबलकारको तल्लो स्टेशनमा आगामी भदौ २७, २८ र २९ गते महोत्सव हुन लागेको हो ।
महोत्सवमा तीज गीत तथा सांस्कृतिक प्रस्तुति प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा देशभरका विभिन्न प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान हासिल गरेका समूहलाई समेत सहभागी गराइने भएकाले कार्यक्रम प्रतिस्पर्धात्मक र आकर्षक हुने अपेक्षा गरिएको छ ।
महोत्सवकी कार्यक्रम संयोजक कमला तिवारीले कार्यक्रमलाई केवल मनोरञ्जनमा सीमित नराखी नेपाली मौलिक कला, संस्कृति, परम्परा र आध्यात्मिक चेतनालाई एकै ठाउँमा जोड्ने अभियानका रूपमा अघि बढाउन लागिएको जानकारी दिइन् ।
“महोत्सव केवल मनोरञ्जनका लागि मात्र होइन, नेपाली संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो,” तिवारीले भनिन्, “नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौँ ।”
तीज विशेष सांस्कृतिक प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम हुने समूहले रु तीन लाख दुई हजार, द्वितीय हुने समूहले रु दुई लाख तीन हजार र तृतीय हुने समूहले रु एक लाख चार हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तीनवटा समूहलाई सान्त्वना पुरस्कारस्वरूप जनही रु दश हजार प्रदान गरिनेछ ।
प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणको प्रतिस्पर्धाबाट उत्कृष्ट छ समूह दोस्रो चरणमा प्रवेश गर्नेछन् भने दोस्रो चरणअन्तर्गत अन्तिम प्रतिस्पर्धा भदौ २९ गते आयोजना गरिनेछ ।
देशभरका विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका समूहलाई समेत सहभागी गराइने भएकाले प्रतियोगितामा सांस्कृतिक विविधता र स्तरीय प्रस्तुति देख्न पाइने आयोजकको विश्वास छ ।
महोत्सव सञ्चालनका लागि करिब रु ३५ लाख खर्च हुने अनुमान गरिएको छ। आयोजकका अनुसार कार्यक्रमको आर्थिक व्यवस्थापन टिकट बिक्री, प्रवेश शुल्क तथा विभिन्न क्षेत्रबाट प्राप्त हुने प्रायोजन मार्फत गरिनेछ ।
महोत्सवलाई बन्दीपुरको पर्यटनसँग समेत जोड्ने तयारी गरिएको छ । केबलकारको तल्लो स्टेशनमा आयोजना हुने भएकाले सांस्कृतिक कार्यक्रमसँगै बन्दीपुर भ्रमणमा आउने पर्यटक तथा स्थानीय दर्शकलाई समेत सहभागी गराउने लक्ष्य राखिएको छ ।
तीज नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व भए पनि पछिल्लो समय यसको स्वरूप व्यापक बन्दै गएको छ । तीज गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत मौलिक संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिने भएकाले महोत्सवलाई सांस्कृतिक संरक्षणसँग जोडिएको तिवारीले बताइन् ।
आदियोगी प्रज्ञा धामले बन्दीपुरमा १०८ फिट अग्लो आदियोगी शिवको दिव्य प्रतिमा निर्माण गर्ने योजना समेत अघि बढाएको छ । आध्यात्मिक तथा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्धेश्यले प्रस्तावित उक्त प्रतिमा निर्माणले बन्दीपुरको पर्यटनमा नयाँ आकर्षण थपिने अपेक्षा गरिएको छ ।