


दमौली, ६ भदौ । तनहुँको दमौलीमा शनिबार आयोजित स्लो मोटरसाइकल राइड प्रतियोगितामा राजिन पौडेल प्रथम भएका छन् । लायन्स क्लब अफ दमौली तनहुँले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित सवारी सञ्चालनबारे सचेतना जगाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा निर्धारित दूरीलाई सबैभन्दा ढिलो तर सन्तुलित रूपमा मोटरसाइकल चलाएर पूरा गर्ने प्रतिस्पर्धा गराइएको थियो । तीव्र गतिमा मोटरसाइकल चलाउनु मात्र दक्षता नभई नियन्त्रण र सन्तुलन कायम गर्दै सुरक्षित रूपमा सवारी चलाउन सक्नु पनि महत्वपूर्ण रहेको सन्देश दिन प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।
प्रतियोगितामा पौडेलले १ मिनेट ९.९५ सेकेन्ड समय निकाल्दै प्रथम स्थान हासिल गरे । विश्वास रुचालले १ मिनेट ६.७१ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय स्थान हासिल गरे भने श्रवण श्रेष्ठले १ मिनेट १.८० सेकेन्ड समय निकाल्दै तृतीय स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम हुने पौडेलले नगद रु तीन हजार, द्वितीय हुने रुचालले रु दुई हजार र तृतीय हुने श्रेष्ठले १ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा ६१ जनाको सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ दमौली तनहुँका उपाध्यक्ष महेन्द्र रिजालले सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चालकमा सचेतना जगाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । सडक दुर्घटनाको प्रमुख कारणमध्ये तीव्र गति, असावधानी र ट्राफिक नियमको उल्लङ्घन रहेकाले सवारी चलाउँदा गति नियन्त्रणसँगै सवारीमाथिको नियन्त्रण र सन्तुलन कायम गर्नुपर्छ भन्ने सन्देश दिन स्लो राइड प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताए । सडक दुर्घटना न्यूनीकरणका लागि चालक, पैदलयात्री, स्थानीय तह तथा सुरक्षा निकाय सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनकाे भनाइ थियो ।
प्रतियोगितामा सहभागी युवाहरूले पनि सामान्यतया तीव्र गतिसँग जोडिने मोटरसाइकल प्रतियोगिताभन्दा फरक किसिमको स्लो राइडले सवारी नियन्त्रण र सन्तुलनको महत्व बुझ्न सहयोग गरेको बताएका थिए ।
क्लबले आगामी दिनमा पनि सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने सचिव सुमन श्रेष्ठले बताए ।