


दमौली, ७ भदौ । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले एक वर्षको अवधिमा ३४ हजार बढीलाई सेवा प्रदान गरेको छ । चिकित्सालयले आर्थिक वर्ष २०८२÷८३ मा ३४ हजार दुई सय ९४ लाई सेवा प्रदान गरेको हो ।
चिकित्सालयले सो अवधिमा बहिरङ्ग सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसुत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्राशन सेवा प्रदान गरेको कार्यालयका सूचना अधिकारी सोमकान्त पौडेलले जानकारी दिए ।
आर्थिक वर्ष २०८१÷८२ मा २६ हजार चार सय चार जनालाई आयर्वुेदिक सेवा प्रदान गरिएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा १६ हजार पाँच सय दुई जनालाई सेवा प्रदान गरिएको थियो ।
पाँच हजार आठ सय ८६ महिला र चार हजार चार सय ५६ पुरुष गरी दश हजार तीन सय ४२ लाई जनालाई बहिरङ्ग सेवा, एक हजार चार सय ८४ महिला र एक हजार एक सय २० पुरुष गरी दुई हजार छ सय चार जनालाई ज्येष्ठ नागरिक सेवा, तीन हजार नौ सय ४८ महिला र एक हजार नौ सय ९३ पुरुष गरी पाँच हजार नौ सय ४१ जनालाई योग सेवा प्रदान गरिएको छ ।
पाँच हजार पाँच सय तीन महिला र चार हजार दुई पुरुष गरी नौ हजार पाँच सय पाँच जनालाई पूर्वकर्म र पञ्चकर्म सेवा, १७ जनालाई स्तनपायी आमा तथा शिशु सेवा, दश महिला र नौ पुरुष गरी १९ जनालाई क्षारसुत्र सेवा, दुई सय ७७ महिला र दुई सय २७ पुरुष गरी पाँच सय चार जनालाई प्रयोगशाला सेवा, एक हजार एक सय ५७ महिला र एक हजार ८३ पुरुष गरी दुई हजार दुई सय ४० जनालाई फिजियोथेरापी सेवा, २३ महिला र ७४ पुरुष ९७ जनालाई शिरोधारा सेवा र दुई हजार सात सय ७८ बालबालिकालाई स्वर्णविन्दु प्राशन सेवा प्रदान गरिएको छ ।
पौडेलका अनुसार चिकित्सालयले तनहुँसँगै गोरखा, लमजुङ, कास्की, स्याङ्जा र आसपासका जिल्लाबाट आउने सेवाग्राहीलाई आयुर्वेदिक उपचार, रोग प्रतिरोधात्मक सेवा, स्वास्थ्य प्रवद्र्धन तथा जीवनशैली व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । पछिल्ला वर्षहरूमा एलोपेथिक उपचारसँगै आयुर्वेदिक उपचारलाई पूरक उपचारका रूपमा अपनाउने नागरिकको सङ्ख्या बढ्दै गएको उनले बताए ।
उनले आयुर्वेदिक उपचार केवल रोग निको पार्ने माध्यम मात्र नभई स्वस्थ जीवनशैली अपनाउने अभियानसमेत भएकाले समुदायस्तरमा यसको पहुँच विस्तार गर्न चिकित्सालयले विभिन्न विद्यालय, स्थानीय तह तथा समुदायसँग सहकार्य गरी योग शिविर, स्वास्थ्य शिक्षा, आयुर्वेदसम्बन्धी सचेतनामूलक कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण सञ्चालन गर्दै आएको जानकारी दिए।
चिकित्सालयले आगामी दिनमा सेवा विस्तार, विशेषज्ञ जनशक्ति व्यवस्थापन, आधुनिक उपकरणको प्रयोग तथा आयुर्वेदिक उपचारलाई अझ प्रभावकारी र सहज बनाउने योजनासहित अघि बढिरहेको जनाएको छ ।