न्याय सम्पादनमा बार र बेञ्चको महत्वपूर्ण भूमिका : प्रधानन्यायाधीश शर्मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    न्याय सम्पादनमा बार र बेञ्चको महत्वपूर्ण भूमिका : प्रधानन्यायाधीश शर्मा

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८३, आईतवार

    दमौली, ७ भदौ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र बेञ्चको महत्वपूर्ण भूमिका रहने बताएका छन् । तनहुँ जिल्ला अदालत बार इकाइले आइतबार दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानन्यायाधीश शर्माले बार र बेञ्चबीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरुपण सम्भव हुने बताए ।

    उनले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे । न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उनकाे भनाइ थियो ।

    प्रधानन्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । न्याय माग्न अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण निर्माण गर्नु न्याय क्षेत्रसँग सम्बन्धित सबैको साझा दायित्व भएको उनकाे भनाइ थियाे ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले लगायतले न्यायपालिकाको गरिमा र स्वतन्त्रता कायम राख्न बार र बेञ्चबीच निरन्तर संवाद र सहकार्य हुनुपर्ने बताए ।

    बारका अध्यक्ष सरिता थापा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णुभक्त सिग्देलले र सञ्चालन सचिव माधवप्रसाद घिमिरेले गरेका थिए ।

    कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा, सारंगा सुवेदी, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, सर्वोच्च अदालतका मुख्य रजिष्टार विमलप्रसाद पौडेल, तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्याय लगायत सहभागी थिए ।