


दमौली, १० भदौ । रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्र तथा नदी–खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीको जलस्तर बढ्न सक्ने भएकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सजगता अपनाउन आग्रह गरेका छन् ।
उनका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आँबुखैरेनी र देवघाट क्षेत्रको त्रिशूली नदी तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।
बाढीको अवस्था तत्काल परिवर्तन हुनसक्ने भएकाले नदी किनारमा नजान, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष निगरानीमा राख्न र जोखिम बढेको अवस्थामा सुरक्षित स्थानतर्फ जान प्रशासनले आग्रह गरेको छ ।
सम्भावित विपद्को अवस्थालाई ध्यानमा राख्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई आवश्यक तयारी अवस्थामा राखिएको छ ।
यसैगरी प्रशासन कार्यालयले पृथ्वीराजमार्गको तनहुँतर्फको पूर्वी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।