


दमौली, १० भदौ । रसुवामा बुधबार आएको बाढीले बगाएर ल्याएका ९ वटा शव तनहुँमा फेला परेका छन् । तीमध्ये केही शव क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार अहिलेसम्म रसुवा बाढीले बगाएर ल्याएका ९ वटा शव भेटिएका छन् । बाढीबाट तनहुँमा अन्य क्षति भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको उन जानकारी दिए ।
आँबुखैरेनी–४ पुलजीपदेखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रमा विभिन्न स्थानमा शव फेला परेका हुन् । नदीको तीव्र बहावका कारण बगाएर ल्याइएका शवहरू नदी किनार तथा विभिन्न स्थानमा फेला परेको तिवारीले बताए ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार नदीमा फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेका छन् । फेला परेका शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि भरतपुर पठाइने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार जिल्लामा उपलब्ध सबै स्रोतसाधनसहित सम्बन्धित सबै टोलीलाई अलर्ट अवस्थामा राखिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय तथा सम्बन्धित टोलीलाई तयारी अवस्थामा राखिएको र आवश्यकताअनुसार थप जनशक्ति तथा स्रोतसाधन परिचालन गरिने उनले बताए ।
यसैबीच, भानुबाट टिमुरेतर्फ गएको चालकसहित तीन जना सम्पर्कविहीन रहेको सूचना प्राप्त भएको प्रजिअ तिवारीले बताए। उनीहरूको अवस्था हालसम्म अज्ञात रहेको र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले आवश्यक पहल गरिरहेको उनकाे भनाइ छ ।