


दमौली, ११ भदौ । रसुवामा आएको भीषण बाढीले बगाएर त्रिशूली नदी हुँदै तनहुँका विभिन्न क्षेत्रमा फेला परेका शवमध्ये ९ वटा शव प्रदेश अस्पताल दमौलीमा राख्ने क्षमता नभएपछि पोखरा पठाइएको छ।
तनहुँका नदी तटीय क्षेत्रमा फेला परेका पाँच पुरुष, एक महिला, एक बालक, एक बालिका र एक जना पहिचान खुल्न नसकेको गरी ९ वटा शवलाई पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो।
यसअघि तनहुँमा फेला परेका नौ वटा शव चितवन पठाइए पनि त्यहाँको शवगृहमा समेत ठाउँ अभाव भएपछि पुनः तनहुँ फर्काइएको थियो।
रसुवाको बाढीपछि त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो संख्यामा शव फेला पर्न थालेसँगै शवको सुरक्षित व्यवस्थापन तथा पहिचान चुनौतीपूर्ण बनेको छ। तनहुँमा आँबुखैरेनी–४ पुलजीपदेखि देवघाटसम्मको त्रिशूली नदी क्षेत्रमा खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।