व्यास नगरपालिकाले बाढीपीडितका लागि पाँच लाख ५१ हजार सहयोग गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाले बाढीपीडितका लागि पाँच लाख ५१ हजार सहयोग गर्ने

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८३, बिहीबार

    तनहुँ ११ भदाै । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि व्यास नगरपालिकाले पाँच लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

    व्यास नगरपालिकाले विपद् पुनःस्थापना कोषबाट रु. ५ लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

    बुधबार बिहान भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी किनारमा ठूलो धनजनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले विपद्को यस घडीमा प्रभावितको उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

    नगरपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट समेत पछि निर्णय भएबमोजिम थप सहयोग गरिने जनाएकाे छ ।

    राष्ट्रिय विपद्को अवस्थामा नगरपालिकाका तर्फबाट गरिने अन्य सहयोगका लागि जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय भइरहेको नगर प्रमुख वैकुण्ठ न्याैपानेले बताए ।

    त्यसैगरी, व्यास नगरपालिकाअन्तर्गतका सामाजिक संघसंस्थाले बाढीपीडितका लागि सहयोग संकलन गर्न चाहेमा जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी सहयोग संकलन तथा वितरण गर्न नगरपालिकाले अनुरोध गरेको छ।

    नगरपालिकाले बाढी प्रभावित क्षेत्रमा पुगेर हालसम्म सम्पर्कमा नआएका नगरवासी भए सम्बन्धित आफन्तले नगरपालिकालाई जानकारी गराउनसमेत आग्रह गरेको छ।

    बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नगरपालिकाले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।