


दमौली, १४ भदौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट पीडित भएकाहरूलाई सहयोग गर्ने उद्धेश्यले दमौलीस्थित रिमै कलेक्सनले कपडा सहयोग गरेको छ।
रिमै कलेक्सनका प्रोप्राइटर गलबहादुर गुरुङले करिब रु ३० हजार बराबर मूल्य पर्ने ६४ थान नयाँ कपडा बाढीपीडितका लागि प्रदान गरेका हुन्। उक्त कपडा आइतबार सामाजिक अभियन्ता सुदीप गफ्फारलाई हस्तान्तरण गरिएको छ।
गुरुङले बाढीपीडितका लागि सहयोग आवश्यक रहेकाले सबैले आ-आफ्नो क्षेत्रबाट जति सकिन्छ सहयोग गर्नुपर्ने बताए ।
सामाजिक अभियन्ता गफ्फारले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित पीडितहरूका लागि विभिन्न व्यक्ति तथा संघसंस्थासँग समन्वय गरी कपडा संकलन अभियान सञ्चालन गर्दै आएका छन्। सोही अभियानअन्तर्गत संकलन गरिएको कपडा आवश्यकताका आधारमा बाढीपीडितसम्म पुर्याइने बताइएको छ।
विपद्को कठिन घडीमा व्यवसायी गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको भन्दै अभियन्ता गफ्फारले धन्यवाद व्यक्त गरेका छन्। उनले विपद्बाट प्रभावित नागरिकका लागि आवश्यक लत्ताकपडा तथा अन्य सामग्री सहयोग गर्न इच्छुक व्यक्ति र संघसंस्थालाई पनि सहयोग अभियानमा जोडिन आग्रह गरेका छन्।