


दमौली, १४ भदौ । तनहुँको व्यास नगरपालिका–२ अमरापुरीस्थित अमरापुरी महिला स्वास्थ्य आमा समूहले तीज पर्वको अवसरमा आयोजना गर्ने भनिएको दर खाने कार्यक्रम स्थगित गरी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ।
समूहले दर खाने कार्यक्रममा खर्च हुने रकमबाट रु. २५ हजार १ सय ७५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
समूहकी अध्यक्ष समिता अधिकारीका अनुसार विपद्को कठिन घडीमा पीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले दर खाने कार्यक्रम स्थगित गरी उक्त रकम सहयोग गरिएको हो।
समूहकी कोषाध्यक्ष शोभा गोदारले विपद्को समयमा आफूहरूले गरेको सानो सहयोगबाट अन्य व्यक्ति तथा संघसंस्थालाई समेत सहयोगको भावना जागृत होस् भन्ने उद्देश्य रहेको बताइन्। उनले दुःख र संकटमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरिन्।
अमरापुरी महिला स्वास्थ्य आमा समूहको यस सहयोगले विपद्पीडितप्रति सामाजिक एकता र मानवीय सहयोगको सन्देश दिएको छ।