


दमौली, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा तनहुँ युनेस्को क्लबले मङ्गलबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
व्यास नगरपालिका–३ स्थित प्रशासन चोकमा आयोजित कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा सहभागीहरूले मौनधारणसमेत गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।
तनहुँ युनेस्को क्लबका अध्यक्ष सरोज भण्डारीको नेतृत्वमा आयोजित कार्यक्रममा क्लबका पदाधिकारी, सदस्यको सहभागिता रहेको थियो।
अध्यक्ष भण्डारीले प्राकृतिक विपद्ले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारप्रति ऐक्यबद्धता जनाउन दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको बताए।