धार्मिक सम्पदाको प्रचारप्रसार गर्न ‘कृष्ण कृ्ष्ण’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धार्मिक सम्पदाको प्रचारप्रसार गर्न ‘कृष्ण कृ्ष्ण’ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०८३, मंगलवार

    दमौली, १६ भदौ। तनहुँको पवित्र धार्मिक तथा ऐतिहासिक व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्दै स्थानीय धार्मिक सम्पदाको प्रचार–प्रसार र प्रवर्धन गर्ने उद्देश्यले तयार पारिएको मर्मस्पर्शी भक्ति भजन ‘कृष्ण कृष्ण’ सार्वजनिक गरिएको छ।

    व्यासभूमिका अध्येता एवं लेखक काशीनाथ न्यौपानेको विशेष प्रस्तुति तथा शब्द रचनामा तयार भएको भजनलाई बि.बि. क्षेत्रीले निर्देशन गरेका छन्। भजनमा चर्चित ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे’ महामन्त्रलाई समेत भक्तिमय शैलीमा प्रस्तुत गरिएको छ।

    नेपालकी चर्चित गायिका समीक्षा अधिकारी र गायक नवराज थापाको सुमधुर स्वर रहेको यस भजनलाई गत भाद्र १० गतेको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरूप्रति समर्पित गरिएको छ। विपत्तिको कठिन समयमा पीडित तथा जनमानसमा आत्मिक शान्ति, धैर्य र सकारात्मक ऊर्जा प्रदान गर्ने उद्देश्यसमेत भजन रहेको निर्माण पक्षले जनाएको छ।

    पौराणिक कालमा व्यास ऋषिको तपस्या भूमि मानिने व्यास गुफा तथा पराशर ऋषिको साधना क्षेत्र पराशर आश्रमको धार्मिक महिमालाई उजागर गर्दै दुवै क्षेत्रबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई प्रस्तुत गरिएको छ। भिडियोको छायाङ्कन व्यास–पराशर क्षेत्रका विभिन्न धार्मिक तथा रमणीय स्थलमा गरिएको छ।

    भिडियोमा सुदिप पौडेल, स्वस्तिका अर्याल, नवराज थापा र कोपिला थापाको अभिनय रहेको छ भने सुसन पन्थले क्यामेरा तथा सम्पादन सम्हालेका छन्।

    ‘कृष्ण कृष्ण’ भजनले धार्मिक आस्था र आध्यात्मिक सन्देशसँगै तनहुँको व्यास–पराशर क्षेत्रको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। यसले स्थानीय धार्मिक पर्यटनको प्रवर्धन तथा ओझेलमा परेका सम्पदाको संरक्षण र प्रचारमा समेत महत्वपूर्ण योगदान दिने विश्वास निर्माण पक्षले लिएको छ।