


काठमाडौं, १६ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहतको कामसँगै सरकार पुनःस्थापनातर्फ अघि बढेको बताएका छन्।
प्रधानमन्त्री शाहका अनुसार सरकारले बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा गरेको छ। हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ भने ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको जानकारी दिइएको छ।
बाढीबाट सडक तथा पुललगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। ४८ वटा झोलुंगे पुल र ३१ वटा मोटरेबल पुल क्षतिग्रस्त भएका छन्। क्षतिग्रस्त सडकमा लेदो हटाउने, बेलिब्रिज निर्माण गर्ने तथा सडक पुनः सञ्चालनका काम तीव्र पारिएको प्रधानमन्त्रीले बताएका छन्।
स्वास्थ्यतर्फ सम्भावित महामारी रोकथामका लागि विशेष निगरानी, उपचार, एम्बुलेन्स तथा मानसिक स्वास्थ्य परामर्शका टोली परिचालन गरिएको छ।
प्रधानमन्त्री राहत कोषमा हालसम्म ६ अर्ब ३६ करोड ६५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको र बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा भइसकेको बताइएको छ। भारत, चीन, अमेरिका, अष्ट्रेलिया, यूएईलगायत विभिन्न मित्रराष्ट्रबाट राहत तथा आर्थिक सहयोग प्राप्त भइरहेको छ।
उनका अनुसार बाढीपछि हालसम्म १ हजार ५० शव फेला परेका छन्। पहिचान हुन नसकेका शवको वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन भइरहेको र डीएनए परीक्षणमार्फत पहिचान गर्ने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री शाहले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा बढ्दै गएको जोखिमको गम्भीर संकेत भएको उल्लेख गर्दै विपद्को विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा उठाउनुपर्ने बताएका छन्।