


तनहुँ, २२ भदौ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँका उद्यमी महिलाहरूद्वारा सञ्चालित व्यास कोसेली घरले भोटेकोशी/त्रिशूली बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० हजार चार सय ४५ रुपैयाँ सहयोग गरेको छ।
दमौलीस्थित व्यास कोसेली घरले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको सञ्चालक समिति सदस्य तुलसी सापकोटाले जानकारी दिइन्।
गत भदौ १४ गतेदेखि दमौलीको अनसनचौतारीमा सञ्चालनमा आएको व्यास कोसेली घरको शुभारम्भ कार्यक्रममै अध्यक्ष कल्पना गौलीले सुरुआती तीन दिनको व्यापार रकमको १० प्रतिशत रकम उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएकी थिइन्।
सोही प्रतिबद्धताअनुसार व्यापारबाट प्राप्त रकममा १५ जना उद्यमी महिलाबाट सङ्कलित स्वेच्छिक सहयोग रकम थप गरी कुल ४० हजार चार सय ४५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको सापकोटाले बताइन्।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले सञ्चालनमा आएको व्यास कोसेली घरमा तनहुँका महिला उद्यमीहरूले उत्पादन गरेका विभिन्न वस्तुका साथै देशका विभिन्न स्थानमा उत्पादित विषादीरहित खाद्यान्न, रैथाने उपज, हस्तकला तथा अन्य स्वदेशी सामग्री बिक्रीका लागि राखिएको छ।
व्यास कोसेली घरले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै विपद्को पीडामा परेका नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेको भन्दै स्थानीयस्तरमा यसको प्रशंसा गरिएको छ।