


दमौली, २२ भदौ । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका दिवंगत आत्माहरूको सम्झना तथा सम्मानमा दमौलीमा शोक सभा सम्पन्न भएको छ।
गाउँ सुधार समितिको सक्रियतामा सोमबार आयोजित शोक सभामा बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
कार्यक्रममा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गर्नुका साथै मैनबत्ती प्रज्ज्वलन गरिएको थियो। विनाशकारी बाढीले निम्त्याएको मानवीय पीडाप्रति सहभागीहरूले दुःख व्यक्त गर्दै दिवंगतहरूको सम्झनामा श्रद्धासुमन अर्पण गरेका थिए।
शोक सभाको अध्यक्षता गाउँ सुधार समितिका अध्यक्ष सुनिल श्रेष्ठले गरेका थिए । कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष हरि सिंह गुरुङले भदौ १० गतेको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण र तथ्यांक प्रस्तुत गरेका थिए ।
उनले बाढीबाट प्रभावित क्षेत्र, भएको मानवीय क्षति तथा विभिन्न भौतिक संरचनामा पुगेको क्षतिसम्बन्धी जानकारी गराउँदै प्राकृतिक विपत्तिले समुदायमा पुर्याएको गम्भीर असरबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा उपस्थित वक्ताहरूले प्राकृतिक विपत्तिका कारण भएको अपूरणीय मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायलाई आवश्यक सहयोग, सहानुभूति र सहकार्य निरन्तर आवश्यक रहेकोमा जोड दिएका थिए। विपत्तिको घडीमा राज्य, स्थानीय समुदाय तथा विभिन्न सामाजिक संघसंस्थाबीच समन्वय र एकता अझ सुदृढ हुनुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष श्रेष्ठले शोक सभामा उपस्थित सम्पूर्ण महानुभावप्रति धन्यवाद ज्ञापन गर्दै विपत्तिका समयमा समुदायबीचको एकता, सहयोग, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताए ।
शोक सभामा स्थानीयवासी, सामाजिक अभियन्ता, विभिन्न क्षेत्रका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।