


रसुवा, २४ भदौ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परिवारका पाँच जना सदस्य गुमाएका पत्रकार निराजन पौडेलले आफूले जीवनकै सबैभन्दा ठूलो पीडा भोग्नुपरेको बताएका छन्।
बाढीले उनका पूजनीय आमाबुवा, अंकल–अण्टी र प्यारी बहिनीलाई एकैपटक बगाएर लगेपछि पौडेलको घर, बाल्यकालका सम्झना र भविष्यका सपनासमेत उजाडिएको उनले बताएका छन्। बाढी आएको सात दिनसम्म आफन्तहरू फर्केर आउने आशामा बसे पनि अन्ततः रित्तो हात काजकिरिया गर्नुपरेको पौडेलले उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गर्दै भोटेकोशीको बाढीले गाउँलाई ढुङ्गा र बालुवाको बगरमा परिणत गरेको र आफ्ना पाँचै जना प्रिय सदस्यलाई आफूबाट सदाका लागि टाढा बनाएको बताएका छन्।
“भदौ १० गते मेरो जीवनको त्यो कालरात्री हो, जसले मेरो खुसी, मेरो ओत र मेरो सर्वस्व लुटेर लग्यो,” पौडेलले भनेका छन्, “आज कर्म पनि सकिएको छ, तर मेरो मनभित्रको आँधी अझै शान्त भएको छैन।”
आफ्नो दुःखमा साथ दिने, समवेदना प्रकट गर्ने तथा सहयोगको हात फैलाउने सबैप्रति उनले हार्दिक आभार व्यक्त गरेका छन्। मोबाइल, सामाजिक सञ्जाल तथा प्रत्यक्ष भेटेर आफूलाई सान्त्वना दिनेहरूको माया र ढाडसले अन्धकारमा सानो दियोको काम गरेको उनले बताएका छन्।
पौडेलले राज्यको उपस्थितिप्रति समेत गुनासो गरेका छन्। परिवारका सदस्य गुमाएर अभिभावकविहीन भएको महसुस भइरहेका बेला राज्यको साथ नपाउँदा आफू थप रित्तिएको उनको भनाइ छ।
यद्यपि, आफू हार नमान्ने उनले बताएका छन्। पाँचै जना परिवारका सदस्यको सम्झनालाई शक्ति बनाएर आफ्नै प्रयासमा पुनः उठ्ने संकल्प गरेको पौडेलले उल्लेख गरेका छन्।
“शरीर शिथिल छ, मन छियाछिया छ, तर पनि बाँच्नका लागि र फेरि उठ्नका लागि आफूलाई बलियो बनाउँदैछु,” उनले भनेका छन्।
पौडेलले कठिन घडीमा आफूलाई सम्झिने, साथ दिने र दुःखमा मल्हम लगाउने सबैप्रति पुनः कृतज्ञता व्यक्त गर्दै उनीहरूको माया नै बाँकी जीवनको सहारा बन्ने बताएका छन्।