गाउँ चिनाउँदै ‘डुलन्ते दाइ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाउँ चिनाउँदै ‘डुलन्ते दाइ’

    खबरपुञ्ज संवाददाता

    २३ भाद्र २०८३, बुधबार

    दमाैली २४ भदाै । गाउँको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र स्थानीय जीवनशैलीलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्धेश्यले बन्दीपुरका बसन्त पौडेल ‘डुलन्ते दाइ’ ले ‘आफ्नो गाउँ आफैँ चिनाऔँ’ अभियान सञ्चालन गरेका छन् । गाउँमा रहेका सम्भावना पहिचान गरी त्यसलाई सामाजिक सञ्जालमार्फत प्रचार गर्ने र पर्यटकलाई गाउँसम्म पु¥याउने उद्धेश्यसहित उनले अभियान अघि बढाएका हुन् ।

    पौडेलले हाल बन्दीपुर भिलेज सफारी सञ्चालनमा ल्याएका छन् । भिलेज सफारीमार्फत बन्दीपुरको ग्रामीण क्षेत्र, स्थानीय जीवनशैली, कृषि, संस्कृति तथा प्राकृतिक सौन्दर्य अवलोकन गराउने गरिएको उनले बताए ।

    उनका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये धेरैले ग्रामीण परिवेश, स्थानीय संस्कृति र मौलिक जीवनशैली नजिकबाट अनुभव गर्न रुचाउने गरेका छन् । यस्ता पर्यटकलाई पर्यटकीय बजार तथा चर्चित गन्तव्यमा मात्र सीमित नराखी गाउँसम्म पु¥याउन सके स्थानीय उत्पादनले समेत बजार पाउने उनकाे भनाइ छ ।

    “नेपालमा आउने विदेशी पर्यटक विशेषगरी ग्रामीण परिवेश अध्ययन गर्न रुचाउँछन्। उनीहरूलाई गाउँसम्म लगेर घुमाउन सके स्थानीय उत्पादनले बजार पाउँछ,” पौडेलले भने ।

    गाउँमा उत्पादन भएका कृषि उपज, स्थानीय परिकार, हस्तकला तथा अन्य मौलिक उत्पादनलाई पर्यटकसँग जोड्न सके ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने उनकाे विश्वास छ । पर्यटक गाउँमा पुग्दा स्थानीय होटल, होमस्टे, यातायात, कृषि उत्पादन तथा अन्य सेवाको माग बढ्ने भएकाले गाउँमै रोजगारी र आम्दानीका अवसर सिर्जना हुने उनकाे भनाइ छ ।

    सामाजिक सञ्जालबाट गाउँको पहिचान

    पौडेलले गाउँको पर्यटन प्रवद्र्धनका लागि सबैले आफ्नो ठाउँमा रहेका आकर्षक तथा रमणीय स्थानको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने बताए । “आफ्नो गाउँमा रहेका रमणीय कुरा फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुहोस् । गाउँको पहिचान अभियानले गाउँको विकासमा सहयोग पुग्छ,” उनले भने ।

    उनका अनुसार अहिले सामाजिक सञ्जाल पर्यटन प्रवद्र्धनको प्रभावकारी माध्यम बनेको छ । गाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, परम्परा, खानपान तथा स्थानीय जीवनशैलीका दृश्य नियमित रूपमा सामाजिक सञ्जालमा ल्याउन सके बाहिरी जिल्लाका तथा विदेशी पर्यटकको ध्यान आकर्षित गर्न सकिने उनकाे भनाइ छ ।

    बन्दीपुरदेखि छिम्केश्वरीसम्म गाउँ घुमाउने योजना

    हाल आफूले बन्दीपुर भिलेज सफारीमार्फत बन्दीपुरको ग्रामीण परिवेश घुमाउने अभियान सुरु गरेको पौडेलले बताए । बन्दीपुरको चर्चित बजार क्षेत्रसँगै आसपासका गाउँ, स्थानीय बस्ती, कृषि क्षेत्र तथा मौलिक जीवनशैलीलाई पर्यटकसँग जोड्ने उनकाे प्रयास छ ।

    अब तनहुँका अन्य पर्यटकीय गाउँलाई समेत भिलेज सफारीसँग जोड्ने तयारी भइरहेको उहाँले बताउनुभयो । छिम्केश्वरी, मानुङकोटलगायतका गाउँ घुमाउने अभियान समेत सुरु गर्ने योजना रहेको उनकाे भनाइ छ ।

    यसै अभियानको अवधारणा अन्य जिल्लामा समेत विस्तार हुन थालेको पौडेलले बताए । इलामको कन्याममा समेत भिलेज सफारी सुरु भइसकेको उनले बताए ।

    गाउँमा पर्यटक भित्र्याउन ठूला पूर्वाधार मात्र आवश्यक नपर्ने भन्दै पौडेलले गाउँको मौलिकता नै मुख्य आकर्षण भएको बताए । गाउँको संस्कृति, रहनसहन, स्थानीय खानपान, कृषि प्रणाली, प्राकृतिक दृश्य र स्थानीयसँगको अन्तरक्रियालाई पर्यटकीय अनुभवका रूपमा विकास गर्न सकिने उनकाे भनाइ छ ।

    गाउँको पहिचानसँगै आर्थिक गतिविधि

    ‘आफ्नो गाउँ आफैँ चिनाऔँ’ अभियानले पर्यटन प्रवद्र्धनसँगै गाउँको आर्थिक गतिविधि बढाउन सहयोग गर्ने पौडेलको विश्वास छ । पर्यटक गाउँसम्म पुग्दा स्थानीय उत्पादनको खपत बढ्ने र गाउँका युवालाई पर्यटन तथा सेवामूलक क्षेत्रमा काम गर्ने अवसर सिर्जना हुने उनले बताए ।

    विशेषगरी युवाहरूले आफ्नो गाउँको सम्भावना पहिचान गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्न सके गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहज हुने उनकाे भनाइ छ ।

    गाउँको पहिचान आफैँले गर्नुपर्ने र त्यसका लागि स्थानीयवासी, युवा तथा व्यवसायी मिलेर अभियान सञ्चालन गर्नुपर्ने पौडेलले बताए । गाउँ चिनाउने अभियानलाई पर्यटनसँग जोडेर अघि बढाउन सके गाउँको विकाससँगै स्थानीय उत्पादनको बजार र रोजगारीका अवसरसमेत विस्तार गर्न सकिने उनकाे विश्वास छ ।