


दमाैली २४ भदाै । व्यास नगरपालिकाले नगरपालिका क्षेत्रभित्र विभिन्न जातजाति तथा समुदायले परम्परादेखि प्रयोग गर्दै आएका अन्त्येष्टि स्थलहरूको पहिचान तथा अभिलेखीकरण गर्ने भएको छ ।
नगरपालिकाले विभिन्न समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका घाट, चिहान, कब्रिस्तान, समाधिस्थल लगायतका अन्त्येष्टि स्थलहरूको यथार्थ विवरण सङ्कलन गरी व्यवस्थित अभिलेख तयार गर्ने निर्णय गरेको हो ।
नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले यस कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन नगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, भूमि प्रशासन शाखा तथा घर नक्सा शाखालाई आवश्यक समन्वय गरी काम अघि बढाउन निर्देशन दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।
नगरपालिकाले परम्परादेखि प्रयोग हुँदै आएका धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका अन्त्येष्टि स्थलहरूको पहिचान गरी अभिलेखीकरण गर्न लागेको हो । यसबाट ती स्थलहरूको संरक्षण, व्यवस्थापन तथा भविष्यमा आवश्यक योजना निर्माणका लागि समेत सहज हुने अपेक्षा गरिएको लम्सालले बताए ।
विभिन्न जाति तथा समुदायको परम्परा, संस्कृति र धार्मिक आस्थासँग जोडिएका अन्त्येष्टि स्थलहरूको व्यवस्थित अभिलेख तयार भएपछि सार्वजनिक तथा अन्य प्रयोजनका विकास निर्माणका क्रममा समेत यस्ता स्थलहरूको संरक्षणमा सहयोग पुग्ने लम्सालको भनाइ छ ।