


तनहुँ, २५ भदौ । नेपाली कांग्रेस व्यास नगरपालिका–४ को वडा सभापतिका उम्मेदवार बासुदेव सापकोटाले संगठनलाई एकताबद्ध, मजबुत र गतिशील बनाउने प्रतिबद्धतासहित आफ्नो उम्मेदवारी अघि सारेका छन्।
सापकोटाले पार्टी संगठनमा अग्रजहरूको अनुभव र युवाहरूको ऊर्जा तथा सहभागितालाई समेटेर अघि बढ्ने बताएका छन्। उनले व्यक्तिभन्दा विचार, नीति र संगठनलाई केन्द्रमा राख्दै कार्यकर्ताबीच एकता र सहकार्य कायम गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताएका हुन्।
संगठनलाई बलियो बनाउन सबै तहका कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सापकोटाले वडा संगठनलाई थप सक्रिय, व्यवस्थित र जनतासँग जोडिएको बनाउन आफूले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयास नभई संगठनप्रतिको जिम्मेवारी निर्वाह गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन्।
“व्यक्ति होइन, विचार र संगठनको जितका लागि। पद होइन, जिम्मेवारीका लागि।” भन्ने अभियानसहित अघि बढेका सापकोटाले नेपाली कांग्रेसप्रति आस्थावान् अग्रज, कार्यकर्ता, शुभेच्छुक तथा साथीभाइसँग साथ, सहयोग र अमूल्य मतका लागि अपिल गरेका छन्।
सापकोटाले पुस्ताबीचको समन्वय, युवाको सक्रिय सहभागिता, कार्यकर्ताको सम्मान र संगठनको एकतालाई आफ्नो नेतृत्वको प्रमुख आधार बनाउने बताएका छन्।
उनको उम्मेदवारीसँगै व्यास–४ मा कांग्रेसको वडा नेतृत्वका लागि संगठन सुदृढीकरण, पुस्तान्तरण र युवा सहभागिताको विषय थप चर्चामा आएको छ।